काठमाडौं । पाकिस्तानको ब्रोड पिक क्षेत्रमा हिमपहिरोमा बेपत्ता भएका आरोहीहरूको खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन पाकिस्तानी सेनाका दुईवटा उद्धार हेलिकोप्टर परिचालन गरिएको छ । हेलिकोप्टरमार्फत उद्धारकर्मी तथा आवश्यक विशेष उपकरण घटनास्थलतर्फ पठाइएको पाकिस्तानको अल्पाइन क्लबले जनाएको छ ।
क्लबका अनुसार उच्च हिमाली क्षेत्रमा भइरहेका उद्धार प्रयासलाई थप प्रभावकारी बनाउन हवाई तथा स्थलमार्गबाट समन्वयात्मक रूपमा काम भइरहेको छ। पाकिस्तान सेनाको उड्डयन इकाई र उद्धारमा संलग्न सबै निकायप्रति क्लबले आभार व्यक्त गर्दै बेपत्ता आरोहीहरूको सकुशल उद्धार हुने आशा कायम रहेको जनाएको छ ।
यसैबीच, नेपाल पर्वतारोहण संघले पाकिस्तानको अल्पाइन क्लबसँग समन्वय गर्दै उद्धार अभियानमा सहयोग गरिरहेको जनाएको छ । संघका महासचिव राजेन्द्रबहादुर लामाका अनुसार के–टु क्षेत्रमा रहेका केही नेपाली शेर्पा उद्धारका लागि घटनास्थलतर्फ गएका छन्। उद्धार हेलिकोप्टरबाट केही आरोही देखिएको सूचना आए पनि त्यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको उनले बताए ।
हिमपहिरोमा परेका १० जना आरोहीमध्ये नेपाली कम्पनी एलिट एक्सपेड, सेभेन समिट ट्रेक्स र इम्याजिन नेपाल मार्फत गएका विदेशी र नेपाली आरोही रहेका छन् ।
उता, पाकिस्तानी सञ्चारमाध्यमहरूको उद्धरण दिँदै नेपाली सञ्चारमाध्यमले घटनास्थलबाट दुई जना आरोहीको शव फेला परेको जनाएका छन् ।
हिमपहिरोमा बेपत्ता हुनेहरूको सूचीमा ओमानकी नधिरा अहमद अब्दुल्ला अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ, अमेरिकाकी म्यालोरी गाइस तथा नेपालका निर्मल पुर्जा (निम्स दाइ), पुरबहादुर गुरुङ (युक्ता), किली पेम्बा शेर्पा (किलु), नीमा शेर्पा, न्वाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका छन् ।









