काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले सन् २०२७ को एकदिवसीय विश्वकपका लागि १२ वटा खेलस्थलको घोषणा गरेको छ । दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने प्रतियोगिताका खेल दक्षिण अफ्रिकाका आठ, जिम्बाब्वेका तीन र नामिबियाको एक खेलस्थलमा सञ्चालन हुनेछन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बिहीबार जोहानिसबर्गमा आयोजित विशेष समारोहमा प्रतियोगिताका खेलस्थल सार्वजनिक गरेको हो । २४ वर्षपछि दक्षिण अफ्रिकामा एकदिवसीय विश्वकप फर्किन लागेको हो । यसअघि सन् २००३ मा दक्षिण अफ्रिका, जिम्बाब्वे र केन्याले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए ।
खेलस्थल घोषणा कार्यक्रममा दक्षिण अफ्रिकाका ग्रेम स्मिथ, मखाया एन्टिनी, हासिम अमला, टेम्बा बावुमा र कागिसो रबाडासहित जिम्बाब्वेका ह्यामिल्टन मासाकाड्जा तथा नामिबियाका रुडोल्फ जान्सेन भान भुरेनको उपस्थिति रहेको थियो ।
दक्षिण अफ्रिकामा जोहानिसबर्गस्थित वान्डरर्स मैदान, सेन्चुरियनस्थित सुपरस्पोर्ट पार्क, केप टाउनको न्युल्यान्ड्स, डरबनको किङ्समिड, ग्केबेर्हास्थित सेन्ट जर्ज पार्क, ब्लोमफोन्टेनको माङगाउङ ओभल, पार्लको बोल्यान्ड पार्क र बफेलो पार्कमा खेल हुनेछ ।
जिम्बाब्वेतर्फ हरारे स्पोर्ट्स क्लब, बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लब तथा भिक्टोरिया फल्सस्थित फाले मोसी-ओआ-टुन्या अन्तर्राष्ट्रिय क्रिकेट मैदान खेल आयोजना गर्ने स्थलका रूपमा चयन भएका छन् । नामिबियाको राजधानी विन्डहोकस्थित नामिबिया क्रिकेट मैदानमा पनि विश्वकपका खेल सञ्चालन हुनेछन् ।
सन् २०२७ को विश्वकपमा कुल ५७ खेल हुनेछन् । प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक बनाउन तीन चरणको नयाँ ढाँचा अपनाइएको छ । प्रारम्भिक चरणमा वरीयताको १२औँदेखि १४औँ स्थानमा रहेका तीन टोलीबीच प्रतिस्पर्धा हुनेछ र विजेता टोली मुख्य चरणमा प्रवेश गर्नेछ । त्यसपछि १२ टोलीलाई दुई समूहमा विभाजन गरी प्रत्येक समूहमा छ-छ टोलीबीच राउन्ड रोबिन आधारमा खेल हुनेछ । दुवै समूहका शीर्ष तीन टोली तथा चौथो स्थानमा रहेका दुई टोलीमध्ये उत्कृष्ट एक टोली ‘सुपर–७’ चरणमा पुग्नेछन्। यस चरणमा २१ खेल खेलाइनेछ ।
‘सुपर–७’ चरणपछि शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्। पहिलो स्थानको टोलीले चौथो स्थानको टोलीसँग तथा दोस्रो र तेस्रो स्थानका टोलीबीच अर्को सेमिफाइनल खेल हुनेछ । त्यसपछि विजेता टोलीबीच उपाधिका लागि फाइनल प्रतिस्पर्धा हुनेछ ।









