काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी) र तत्कालीन एमआईएस अपरेटर सुरेश कँहारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार गाउँपालिकामा जागिर लगाइदिने भन्दै उपाध्यक्ष चौधरीले घुस लिएको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उनको बैंक खातामा पाँच लाख रुपैयाँ जम्मा भएको पुष्टि भएको हो।
अनुसन्धानका क्रममा तत्कालीन एमआईएस अपरेटर सुरेश कँहारको बैंक खाताबाट कार्यालय सहयोगीको नाममा चेक काटी उक्त रकम उपाध्यक्ष चौधरीको बैंक खातामा जम्मा गरिएको भेटिएको आयोगले जनाएको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७९/८० मा स्वीकृत ‘न्यायिक असमानता विरुद्ध उपाध्यक्ष कार्यक्रम’ सञ्चालन गर्ने जिम्मेवारी सुरेश कँहारलाई दिइएको थियो। सोही कार्यक्रम सञ्चालनका लागि गाउँपालिकासँग सम्झौता गरी उनले छ लाख रुपैयाँ पेश्की लिएका थिए।
पेश्की रकम खातामा आएलगत्तै त्यसमध्ये पाँच लाख रुपैयाँ उपाध्यक्ष चौधरीको खातामा जम्मा गराइएको र कार्यक्रम सञ्चालनका लागि कुनै खर्च नगरिएको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ। कँहारको खातामा अन्य रकमसमेत नरहेको अवस्थामा उक्त पाँच लाख रुपैयाँ घुसस्वरूप उपाध्यक्षलाई दिएको प्रमाण फेला परेको आयोगले जनाएको छ।
आयोगले उपाध्यक्ष चौधरी र सुरेश कँहारले मिलेमतोमा गाउँपालिकाबाट कार्यक्रम सञ्चालनका नाममा भुक्तानी भएको पेश्की रकममध्ये पाँच लाख रुपैयाँ घुसका रूपमा लेनदेन गरेको ठहर गरेको छ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको कसुर भएको भन्दै दुवै जनाविरुद्ध सोही ऐनअनुसार सजायको माग गर्दै बिहीबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।









