काठमाडौँ । भारतीय गायक तथा र्यापर बादशाहकी पत्नी तथा अभिनेत्री ईशा रिखीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पोष्टले उनीहरुको बैवाहिक जीवनमा संकट आएको संकेत गरेको छ । विवाह भएको छ महिना पनि पूरा नहुँदै उनले वैवाहिक सम्बन्धमा समस्या आएको सङ्केत गरेपछि सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी सुरु भएको छ ।
ईशाले इन्स्टाग्राममा लेखेकी छन्- 'केही संघर्ष यस्ता हुन्छन्, जसका बाहिरी घाउ देखिँदैनन् । म लामो समयसम्म मौन रहेँ, किनकि मलाई डर थियो । श्रीमानको हैसियत, शक्ति र प्रभावका कारण म असुरक्षित महसुस गर्थें । मैले मौन बस्नु नै सुरक्षित विकल्प हो भन्ने विश्वास गर्न थालेकी थिए । मेरो मौनताको अर्थ सबै कुरा स्वीकार गरेको होइन, त्यो केवल परिस्थितिसँग जुध्ने एउटा उपाय थियो । आज म डर होइन, साहस रोजिरहेकी छु । अहिले नै सबै कुरा भन्न तयार छैन, तर सबै ठीक छ भन्ने अभिनय भने अब गर्न सक्दिन ।'
ईशाको यो अभिव्यक्तिपछि उनी र बादशाहबीच सम्बन्धमा दरार आएको चर्चा सामाजिक सञ्जालमा तीव्र बनेको छ । यद्यपि, उनले आफ्नो सन्देशमा कुनै विशेष घटना वा आरोपबारे विस्तृत खुलाएकी छैनन् भने बादशाहले पनि यस विषयमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।
ईशा रिखी पञ्जाबी चलचित्र उद्योगकी चर्चित अभिनेत्री तथा मोडल हुन् । उनको जन्म सन् १९९३ सेप्टेम्बर ९ मा चण्डीगढमा भएको हो । उनले पञ्जाब विश्वविद्यालयबाट स्नातक तहको अध्ययन पूरा गरेकी छन् भने कक्षा १२ मै अध्ययनरत रहँदा मोडलिङ सुरु गरेकी थिइन् ।
उनले सन् २०१३ मा पञ्जाबी चलचित्र ‘जट्ट ब्वाइज पुट्ट जट्टान दे’ मार्फत अभिनय यात्रा सुरु गरेकी थिइन् । त्यसपछि ‘ह्याप्पी गो लक्की’ लगायतका धेरै पञ्जाबी चलचित्रमा अभिनय गरेकी छन् ।
चलचित्रसँगै ईशाले विभिन्न व्यावसायिक विज्ञापनमा पनि काम गरेकी छन् । उनले अक्षय कुमार, सोनम कपुर र अमिताभ बच्चनसँग विज्ञापनमा समेत सहकार्य गरिसकेकी छन् । सन् २०१८ मा ‘नवाबजादे’ चलचित्रमार्फत उनले हिन्दी चलचित्र उद्योगमा पनि प्रवेश गरेकी थिइन् ।









