काठमाडौँ । भारतका तत्कालीन केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएसँगै पछिल्लो एक महिनादेखि चर्चामा रहेको 'ककरोच जनता पार्टी (सिजेपी)' को आन्दोलन औपचारिक रूपमा समाप्त भएको छ । दिल्लीको जन्तर–मन्तरमा लगातार जारी प्रदर्शन सकिएपछि त्यहाँको अवस्था फेरि सामान्य बनेको छ ।
प्रदर्शनस्थलमा लेखिएका नाराहरू हटाइएको छ भने सडक र सार्वजनिक स्थानको सरसफाइ पनि गरिएको छ । सिजेपीका प्रमुख अभिजित दीपके र उनका समर्थकहरू पनि आन्दोलनस्थलबाट फर्किसकेका छन् । तर आन्दोलन सकिएसँगै अब सिजेपीको भविष्य के हुन्छ भन्ने विषयमा भारतमा नयाँ बहस सुरु भएको छ ।
सामाजिक सञ्जालमा व्यंग्यात्मक अभियानका रूपमा सुरु भएको यो समूहले छोटो समयमै देशव्यापी चर्चा बटुल्यो । शिक्षामन्त्रीको राजीनामा यसको मुख्य माग थियो, जुन पूरा भइसकेको छ। अब यो अभियान यहीँ टुंगिन्छ कि भविष्यमा नयाँ राजनीतिक शक्तिका रूपमा अघि बढ्छ भन्नेबारे विभिन्न विश्लेषण भइरहेका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार सिजेपीले आफ्नो दीर्घकालीन राजनीतिक उद्देश्यबारे हालसम्म स्पष्ट धारणा सार्वजनिक गरेको छैन । दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयका राजनीतिक अध्ययन केन्द्रका प्राध्यापक डा. सुधीर कुमारका अनुसार सिजेपीको गतिविधि हेर्दा तत्काल राजनीतिक दल बन्ने संकेत देखिँदैन । उनका अनुसार यस आन्दोलनले भने शिक्षा क्षेत्रका विद्यार्थी आन्दोलनलाई नयाँ ऊर्जा दिएको छ ।
उनले विगत एक दशकमा शिक्षा सुधारका विषयमा धेरै आन्दोलन भए पनि थकान देखिन थालेको अवस्थामा सिजेपीले युवामा नयाँ उत्साह ल्याएको बताए । उनका अनुसार आन्दोलनपछि विपक्षी दलहरूले शिक्षा, प्रहरी कारबाही, गिरफ्तारी र मुद्दाजस्ता विषयलाई तीव्र रूपमा राजनीतिक एजेन्डा बनाएका छन् ।
वरिष्ठ पत्रकार आशुतोषले सिजेपीले ऐतिहासिक भूमिका खेलेको टिप्पणी गरेका छन् । उनका अनुसार शक्तिशाली सरकारलाई दबाबमा पारेर एक मन्त्रीको राजीनामा गराउनु आफैंमा ठूलो उपलब्धि हो । तर उनले सिजेपी अब राजनीतिक दलमा रूपान्तरण हुने सम्भावना कम रहेको विश्लेषण गरेका छन् । उनका अनुसार आन्दोलनको नैतिकता जोगाउन पनि यसलाई राजनीतिक दलमा बदल्नु उचित नहुने धारणा राखेका छन् ।
यद्यपि सबै विश्लेषकको मत एउटै छैन । पटना स्थित एएन सिन्हा सामाजिक अध्ययन संस्थानका पूर्वनिर्देशक डी.एम. दिवाकरले भने आन्दोलनबाट नै राजनीतिक दल जन्मिने इतिहास रहेको स्मरण गराएका छन् । सन् १९७४ को विद्यार्थी आन्दोलनबाट जनता पार्टीको उदय भएको उदाहरण दिँदै उनले सिजेपी पनि भविष्यमा राजनीतिक शक्तिका रूपमा विकसित हुन सक्ने बताएका छन् ।
उनका अनुसार अहिले सिजेपी आफैंलाई राजनीतिक दल नभने पनि यसको एजेन्डा राजनीतिक प्रकृतिको छ । व्यवस्था सुधार, सरकारको आलोचना र नीतिगत परिवर्तनका मागले भविष्यमा यसलाई नयाँ राजनीतिक विकल्पका रूपमा स्थापित गर्न सक्ने सम्भावना रहेको उनको भनाइ छ ।
विश्लेषकहरूले आन्दोलनको अर्को महत्वपूर्ण पक्ष 'ककरोच' प्रतीकलाई पनि मानेका छन् । समाजमा सामान्यतया नकारात्मक रूपमा हेरिने ककरोचलाई आन्दोलनले सीमान्तकृत र बेवास्ता गरिएका युवाको प्रतीकका रूपमा प्रस्तुत गरेको उनीहरूको विश्लेषण छ । आन्दोलन समापनका क्रममा अभिजित दीपकेले 'ककरोचले के गर्न सक्छ भन्ने अब सबैले देखे' भन्ने अभिव्यक्तिलाई पनि त्यसैको सन्देशका रूपमा हेरिएको छ ।
सिजेपीको सुरुआत सामाजिक सञ्जालबाट भएको थियो । भारतको सर्वोच्च अदालतमा न्यायाधीश सूर्यकान्तले युवाको एक समूहलाई 'ककरोच'सँग तुलना गर्दै गरेको टिप्पणीपछि सामाजिक सञ्जालमा त्यसको व्यापक चर्चा सुरु भएको थियो । पछि न्यायाधीशले आफ्नो भनाइको गलत अर्थ लगाइएको स्पष्ट पारे पनि त्यसबेलासम्म 'ककरोच जनता पार्टी' नाम सामाजिक सञ्जालमा भाइरल भइसकेको थियो ।
त्यसपछि सिजेपीले नीट परीक्षा प्रश्नपत्र चुहावट प्रकरणलाई प्रमुख मुद्दा बनाउँदै शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्यो । जुन ६ मा पहिलो प्रदर्शन गरेको समूहले जुन २० देखि जन्तर–मन्तरमा निरन्तर आन्दोलन सुरु गरेको थियो । अन्ततः जुलाई २५ मा शिक्षामन्त्रीले राजीनामा दिएपछि आन्दोलन समाप्त भएको घोषणा गरियो ।
विश्लेषकहरूका अनुसार आन्दोलनले तत्काल आफ्नो उद्देश्य पूरा गरे पनि यसको सबैभन्दा ठूलो उपलब्धि भारतका युवामा लोकतान्त्रिक सहभागिताको भावना बलियो बनाउनु हो । सामाजिक सञ्जालमा मात्र सीमित रहने भनिएका नयाँ पुस्ताले आवश्यक पर्दा सडकमा उत्रिएर पनि प्रभावकारी दबाब सिर्जना गर्न सक्छ भन्ने सन्देश यस आन्दोलनले दिएको उनीहरूको निष्कर्ष छ । अर्कोतर्फ जाति र धर्मको नाममा अहिलेसम्म भारतमा हुदै आएको राजनीति अब एजेण्डा र मुद्धाका आधारमा हुनसक्ने अर्को महत्वपूर्ण उपलब्धि यस आन्दोलनले दिएको विश्लेषण गरिएको छ ।
अब सिजेपी सक्रिय रहन्छ वा इतिहासको एउटा छोटो आन्दोलनका रूपमा सीमित हुन्छ भन्ने प्रश्नको उत्तर आगामी दिनका गतिविधिले तय गर्नेछ । तर एक महिनाको अवधिमा यसले भारतीय राजनीति र युवा आन्दोलनमा आफ्नो छुट्टै छाप भने छोडिसकेको र नयाँ इतिहास बनाएको विश्लेषकहरूको भनाइ छ ।









