काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि मसी प्रहार तथा दुर्व्यवहार भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिअनुसार साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सम्पन्न गरी फर्कने क्रममा सांसद पौडेलमाथि कालो मसी प्रहार गरिएको थियो ।
संसदीय दलले उक्त घटनालाई हिंसात्मक, अमर्यादित र निन्दनीय गतिविधि भन्दै यसको घोर भर्त्सना गरेको छ। विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध व्यक्त गर्ने अधिकार सुरक्षित रहे पनि जनप्रतिनिधिमाथि हुने हिंसा, दुर्व्यवहार वा अपमानजनक व्यवहार कुनै पनि लोकतान्त्रिक समाजमा स्वीकार्य हुन नसक्ने उल्लेख गरिएको छ ।
रास्वपाले यस्ता गतिविधिले विधिको शासन, लोकतान्त्रिक संस्कार तथा शान्तिपूर्ण र सभ्य राजनीतिक अभ्यासमाथि आघात पुग्ने जनाएको छ । पार्टीले घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न व्यक्तिलाई कानुनबमोजिम कडा कारबाही गर्न, घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी जनप्रतिनिधिहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग माग गरेको छ ।
रास्वपाले लोकतान्त्रिक मूल्य, विधिको शासन, अहिंसात्मक राजनीतिक अभ्यास तथा सभ्य समाज निर्माणप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ।









