• २०८३ श्रावण ६ बुधबार

पाकिस्तानमा पेट्रोल पम्प बन्द

पाकिस्तानमा पेट्रोल पम्प बन्द

काठमाडौँ । पाकिस्तानभरका पेट्रोल पम्प सञ्चालकहरूले सरकारको दैनिक इन्धन मूल्य निर्धारण प्रणालीको विरोध गर्दै बुधबार रातिदेखि देशव्यापी रूपमा पेट्रोल पम्प बन्द गर्ने घोषणा गरेका छन् । सरकारसँग भएको वार्ता निष्कर्षविहीन भएपछि आन्दोलनको निर्णय गरिएको हो ।

अखिल पाकिस्तान पेट्रोल पम्प सञ्चालक संघले दैनिक रूपमा पेट्रोलियम पदार्थको मूल्य परिवर्तन गर्ने सरकारी व्यवस्था कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताउदै देशभर पम्प बन्दको घोषणा गरेको हो । संघका अनुसार पेट्रोलियम मन्त्रीसँग भएको छलफलमा सहमति हुन नसकेपछि देशभरका पेट्रोल पम्प बन्द गर्ने निर्णय गरिएको हो ।

सरकारले भने अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तनको प्रभाव उपभोक्तासम्म छिटो र पारदर्शी रूपमा पुर्‍याउने उद्देश्यले नयाँ प्रणाली लागू गरिएको जनाएको छ। नयाँ व्यवस्थाअनुसार पछिल्ला सात दिनको अन्तर्राष्ट्रिय औसत मूल्यका आधारमा प्रत्येक दिन पेट्रोल र उच्च गतिको डिजेलको मूल्य निर्धारण गरिनेछ। शुक्रबार तोकिएको मूल्य भने शनिबार र आइतबार यथावत् रहने व्यवस्था गरिएको छ ।

नयाँ प्रणालीअनुसार अब इन्धनको मूल्य निर्धारण गर्ने अधिकार तेल तथा ग्यास नियामक प्राधिकरणलाई दिइनेछ। मूल्य निर्धारणका लागि प्रधानमन्त्री वा संघीय सरकारको छुट्टै स्वीकृति आवश्यक नपर्ने व्यवस्था गरिएको छ। साथै मट्टितेल र हल्का डिजेलको मूल्य पनि दैनिक रूपमा तोकिनेछ ।

यता पाकिस्तान पेट्रोलियम डिलर्स संघले पनि आन्दोलनमा सहभागी हुने वा नहुनेबारे बुधबार बस्ने कार्यसमिति बैठकबाट निर्णय गर्ने जनाएको छ। पेट्रोलियम मन्त्रालयका अधिकारीहरूले भने पेट्रोल पम्प सञ्चालकहरूको नाफासम्बन्धी मागबारे पनि सरकार सकारात्मक रहेको र सबै सरोकारवालासँग संवाद जारी रहने बताएका छन्।

नयाँ आर्थिक वर्षका लागि इन्धन आयात व्यवस्थामा समेत परिवर्तन गरिएको छ। अब उच्च गतिको डिजेलको आयात सरकारी स्वामित्वको पाकिस्तान स्टेट आयलमार्फत मात्रै गरिनेछ भने पेट्रोल आयातको अनुमति बजार हिस्साका आधारमा सम्बन्धित कम्पनीहरूलाई दिइनेछ। आयातसम्बन्धी दायित्व पूरा नगर्ने कम्पनीलाई नौ महिनासम्म नयाँ आयात अनुमति नदिने व्यवस्था पनि गरिएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै