• २०८३ श्रावण ५ मंगलबार

विश्वकप फाइनलको विश्लेषण: नतिजा १-० तर खेलमा अर्जेन्टिनामाथि स्पेनको दबदबा

विश्वकप फाइनलको विश्लेषण: नतिजा १-० तर खेलमा अर्जेन्टिनामाथि स्पेनको दबदबा

काठमाडौँ । फिफा विश्वकप फुटबलको फाइनलमा स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर दोस्रो पटक विश्व च्याम्पियन बन्यो । स्कोर हेर्दा खेल निकै प्रतिस्पर्धात्मक देखिए पनि खेलका तथ्याङ्क र समग्र प्रदर्शनले भने स्पेनले सुरुदेखि अन्त्यसम्म मैदानमा पूर्ण नियन्त्रण कायम गरेको देखाएको छ ।

न्यु जर्सीस्थित मेटलाइफ रङ्गशालामा भएको फाइनलमा फेरान टोरेसले अतिरिक्त समयको १०६औँ मिनेटमा गरेको गोल नै उपाधि जिताउने गोल बन्यो । तर त्यो गोल १२० मिनेटसम्म स्पेनले सिर्जना गरेको निरन्तर दबाबको परिणाम रहेको विश्लेषण गरिएको छ ।

फाइनल खेलमा स्पेनले गोलका लागि २० पटक प्रयास गर्दा अर्जेन्टिनाले केवल दुई पटक मात्र प्रयास गर्न सक्यो । स्पेनका १२ प्रहार लक्ष्यतर्फ पुगे भने अर्जेन्टिनाले पूरा खेलमा एक पटक पनि लक्ष्यमा प्रहार गर्न सकेन ।

स्पेनले पेनाल्टी क्षेत्रभित्रबाट सात र बाहिरबाट १२ प्रयास गरेको थियो । अर्जेन्टिनाले भने पेनाल्टी क्षेत्रभित्रबाट एक र बाहिरबाट एक मात्र प्रयास गर्न सफल भयो । यसले खेलभर स्पेनले आक्रमणमा एकतर्फी दबाब बनाएको स्पष्ट देखाएको छ ।

स्पेनको जितमा मध्यपङ्क्तिको प्रभाव सबैभन्दा महत्वपूर्ण रह्यो । रोड्री, पेड्री र उनका सहकर्मीले लगातार बल आफ्नो नियन्त्रणमा राख्दै अर्जेन्टिनालाई रक्षात्मक खेल्न बाध्य बनाए । छोटो पास, तीव्र गतिमा स्थान परिवर्तन र बलमाथिको नियन्त्रणका कारण अर्जेन्टिनाले आफ्नो स्वाभाविक खेल प्रदर्शन गर्न सकेन । फलस्वरूप लियोनेल मेसी, जुलियन आल्भारेजलगायतका आक्रमणकारी खेलाडीले प्रभावकारी अवसर नै पाएनन् । प्रतियोगिताभर आठ गोल गरेका मेसीलाई स्पेनले फाइनलमा पूर्ण रूपमा निष्क्रिय बनायो । स्पेनले व्यक्तिगत निगरानीभन्दा पनि क्षेत्रगत दबाबको रणनीति अपनाएको थियो । मेसीले बल पाएलगत्तै दुई वा तीन खेलाडीले घेरा हाल्ने रणनीतिका कारण उनले स्वतन्त्र रूपमा खेल्ने अवसर पाएनन् । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका मेसी फाइनलमा प्रभाव जमाउन असफल भए ।

अर्जेन्टिना पराजित भए पनि गोलरक्षक एमिलियानो मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरे । उनले स्पेनका धेरै कठिन प्रहार रोकेर टोलीलाई ठूलो अन्तरको हारबाट जोगाए । यदि मार्टिनेज उत्कृष्ट लयमा नरहेको भए स्पेनले धेरै गोल गर्न सक्ने अवस्था रहेको खेलका तथ्याङ्कले देखाउछन् । निर्धारित समयको अन्त्यतिर एन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो । अतिरिक्त समयमा त्यसको प्रभाव स्पष्ट देखियो । खेलाडीहरू थाक्दै जाँदा स्पेनले थप खाली स्थान पायो । यही क्रममा पेड्रो पोरोको क्रसमा निको विलियम्सको हेडरपछि आएको बललाई फेरान टोरेसले गोलमा परिणत गर्दै स्पेनलाई उपाधि दिलाए ।

फाइनल मात्र होइन, पूरै विश्वकपमा स्पेनको सबैभन्दा ठूलो बलियो पक्ष उसको रक्षा पङ्क्ति बन्यो । सात खेलमा स्पेनले केवल एक गोल मात्र व्यहोरेको थियो भने छ खेलमा विपक्षीलाई गोल गर्नै दिएन । विश्वकप इतिहासमा च्याम्पियन टोलीको यो संयुक्त रूपमा उत्कृष्ट रक्षात्मक प्रदर्शनमध्ये एक हो । यससँगै स्पेनले सन् १९९८ को फ्रान्स र २००६ को इटालीको कीर्तिमान बराबरी गरेको छ ।

सम्पूर्ण प्रतियोगितामा बेल्जियम मात्र स्पेनविरुद्ध गोल गर्न सफल भएको थियो ।

फुटबलमा प्रचलित भनाइ छ, आक्रमणले खेल जिताउछ, तर बलियो रक्षाले उपाधि जिताउछ । स्पेनले विश्वकप २०२६ मा यही भनाइलाई व्यवहारमा उतारेको देखियो । फाइनलमा अर्जेन्टिनालाई एक पटक पनि लक्ष्यमा प्रहार गर्न नदिई मध्यपङ्क्तिमा पूर्ण नियन्त्रण कायम गरेको स्पेनले धैर्यपूर्वक अवसरको प्रतीक्षा गर्‍यो । अन्ततः अतिरिक्त समयमा प्राप्त एउटै अवसरलाई गोलमा परिणत गर्दै दोस्रो पटक विश्वकपको उपाधि जित्न सफल भयो ।

फाइनलको नतिजा १-० मात्र रहे पनि खेलका तथ्याङ्कले स्पेनको जित केवल एक गोलको नभई उत्कृष्ट रणनीति, अभेद्य रक्षा, मध्यपङ्क्तिमाथिको नियन्त्रण र अनुशासित फुटबलको जित भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै