काठमाडौं । आजदेखि चलचित्र ‘गौँथली’ को देशभर प्रदर्शनमा आएको छ ।
फिल्मको रिलिज अघि राजधानी र मोफसलका अधिकांश मल्टिप्लेक्सहरूले मंगलबारदेखि नै चलचित्रको शो सार्वजनिक गर्दै बुकिङ खुला गरिएको थियो । त्यसअघि सोमबार साँझ काठमाडौंको सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा प्रिमियर शो गरिएको थियो ।
प्रिमियरमा राम्रो प्रतिक्रियासहित उच्च हाइप बनाएको सिनेमाले राम्रो ग्रकसलेक्सन गर्नेमा निर्माण टिमले विश्वास गरेको छ ।
कपिल रिजालले निर्देशन गरेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।
डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन छ । यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफ.डी. कम्पनीले वितरण गर्ने छन् । डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ ।









