• २०८३ असार २८ आइतबार

नर्वेमाथि इङ्ग्ल्यान्डको जितमा के हो स्पाइडरक्याम विवाद ?

नर्वेमाथि इङ्ग्ल्यान्डको जितमा के हो स्पाइडरक्याम विवाद ?

काठमाडौँ । फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा इङ्ग्ल्यान्डले अतिरिक्त समयमा नर्वेलाई २-१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । तर खेलपछि इङ्ग्ल्यान्डको जितभन्दा पनि स्पाइडरक्यामसँग जोडिएको विवादले बढी चर्चा पायो ।

नर्वेका खेलाडी र प्रशिक्षक टोलीले इङ्ग्ल्यान्डको बराबरी गोल हुनुअघि बल रंगशालामाथि जडान गरिएको स्पाइडरक्याममा ठोक्किएको दाबी गरेका छन् । उनीहरूले त्यस अवस्थामा खेल तत्काल रोक्नुपर्ने भए पनि खेल जारी राखिएकाले सोही आक्रमणबाट इङ्ग्ल्यान्डले गोल गरेको भन्दै आपत्ति जनाएका हुन् ।

पहिलो हाफको इन्जुरी समयमा नर्वे १-० ले अगाडि रहेको बेला गोलरक्षक ओर्जान नाइल्यान्डले लामो प्रहार गरेका थिए। त्यसक्रममा बल स्पाइडरक्याममा ठोक्किएर दिशा परिवर्तन गर्दै इङ्ग्ल्यान्डका इलियट एन्डरसनसम्म पुगेको देखिएको थियो । एन्डरसनले तत्काल आक्रमण अघि बढाउँदै एन्थोनी गोर्डनलाई पास दिए । गोर्डनको उत्कृष्ट पासमा जुड बेलिङ्घमले बल नियन्त्रण गर्दै रक्षक टोर्ब्योर्न हेगमलाई छलाएर सहज गोल गरेपछि खेल १-१ को बराबरीमा पुगेको थियो । गोल भएपछि नर्वेका खेलाडी र प्रशिक्षकहरू रेफ्री क्लेमाँ टुर्पिनसँग पुगेका थिए । उनीहरूले बल स्पाइडरक्याममा ठोक्किएको भन्दै खेल रोक्नुपर्ने दाबी गरे । मध्यविरामका क्रममा नर्वेका मुख्य प्रशिक्षक स्टाले सोलबाक्केन पनि निकै असन्तुष्ट देखिएका थिए ।

फुटबलको नियमअनुसार खेलका क्रममा बल स्पाइडरक्यामजस्ता बाह्य वस्तुमा ठोक्किएमा रेफ्रीले खेल तत्काल रोक्नुपर्छ । त्यसपछि ‘ड्रप बल’मार्फत खेल पुनः सुरु गरिन्छ । नर्वेको आपत्ति यही नियममा आधारित थियो । यद्यपि फिफाले भिडियो सहायक रेफ्री टोलीले बल वास्तवमै स्पाइडरक्याममा ठोक्किएको स्पष्ट प्रमाण फेला पारेन । प्रतियोगितामा प्रयोग गरिएको सेन्सरले पनि कुनै सम्पर्क भएको अभिलेख देखाएन । त्यसैले भिडियो सहायक रेफ्रीले गोललाई वैध ठहर गर्दै रेफ्रीको निर्णय यथावत् राखेको थियो ।

विवादित बराबरी गोलपछि खेलको गति इङ्ग्ल्यान्डतर्फ मोडिएको थियो । अतिरिक्त समय सुरु भएको तीन मिनेटमै मोर्गन रोजर्सको शक्तिशाली प्रहार गोलरक्षक नाइल्यान्डले पूर्ण रूपमा नियन्त्रण गर्न सकेनन् । रिबाउन्डमा सबैभन्दा पहिले पुगेका बेलिङ्घमले बललाई जाली चुमाउँदै इङ्ग्ल्यान्डलाई २-१ को अग्रता दिलाए। यही गोल निर्णायक बन्यो ।

अतिरिक्त समयमा अर्को विवाद पनि देखिएको थियो । जेड स्पेन्स लडेपछि रेफ्रीले सुरुमा इङ्ग्ल्यान्डलाई पेनाल्टी दिएका थिए । तर भिडियो सहायक रेफ्रीको सुझावपछि टुर्पिनले पुनः दृश्य हेरेर निर्णय सच्याए । स्पेन्सले नै पहिले सम्पर्क सुरु गरेको निष्कर्ष निकाल्दै उनले पेनाल्टीको निर्णय रद्द गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै