• २०८३ असार २८ आइतबार

नोस्कोभाले पहिलो पटक जितिन् विम्बल्डन उपाधि

नोस्कोभाले पहिलो पटक जितिन् विम्बल्डन उपाधि

काठमाडौँ । चेक गणतन्त्रकी २१ वर्षीया लिन्डा नोस्कोभाले विम्बल्डन टेनिस प्रतियोगिताको महिला एकलतर्फको उपाधि जित्दै करिअरकै पहिलो ग्रान्ड स्लाम ट्रफी आफ्नो नाममा लेखाएकी छन् ।

फाइनलमा नोस्कोभाले आफ्नै देश चेक गणतन्त्रकी करोलिना मुचोभालाई ६–२, ५–७ र ६–३ को सेटमा पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरिन् । खेलको दोस्रो सेटमा ५–२ को अग्रता लिँदै पाँच पटकसम्म खेल जित्ने अवसर गुमाएकी नोस्कोभाले त्यसपछि सेट पनि गुमाएकी थिइन् । दर्शकको चर्को समर्थन र दबाबका बीच उनले कान थुनेर बसेकी थिइन् भने केही समय विश्रामका लागि मैदानबाहिर समेत गएकी थिइन् ।

मैदानबाहिर रहँदा आफूले उपविजेताको सानो ट्रफी होइन, विजेताको ठूलो ट्रफी नै जित्ने अठोट गरेको नोस्कोभाले बताइन् । तेस्रो सेटमा आफ्नो सम्पूर्ण शक्ति लगाउने निर्णय गरेकी उनले अन्ततः उत्कृष्ट पुनरागमन गर्दै उपाधि जित्न सफल भइन् । छैटौँ खेल जित्ने अवसरमा सफल भएपछि नोस्कोभा भावुक बन्दै अनुहार छोपेर घाँसे मैदानमै ढलेकी थिइन् । त्यसलगत्तै वेल्सकी राजकुमारी क्याथरिनले उनलाई विजेताको ट्रफी प्रदान गरेकी थिइन् ।

उपाधिपछि नोस्कोभाले अन्तिम अंक जित्न कहिल्यै सहज नहुने भन्दै मुचोभाले आफूलाई कडा चुनौती दिएको बताइन् । योसँगै पछिल्ला चार वर्षमा विम्बल्डन महिला एकल उपाधि जित्ने उनी तेस्रो चेक खेलाडी बनेकी छन्। यसअघि सन् २०२३ मा मार्केटा भोन्ड्रोसोभा र २०२४ मा बारबोरा क्रेज्चिकोभाले उपाधि जितेका थिए । नोस्कोभा र मुचोभाले सन् २०२४ को पेरिस ओलम्पिकमा युगलतर्फ सँगै प्रतिस्पर्धा गर्दै चौथो स्थान हासिल गरेका थिए ।

फाइनलपछि नोस्कोभाले आफ्नो पहिलो ग्रान्ड स्लाम फाइनल मुचोभासँग खेल्न पाएकोमा खुसी व्यक्त गर्दै यो दिन चेक टेनिसका लागि ऐतिहासिक बनेको बताइन् । उनले नतिजा जस्तो भए पनि आफ्ना समर्थकहरू दुवै खेलाडीप्रति गर्व गर्ने विश्वास व्यक्त गरिन् । फाइनल हेर्न दुईपटककी विम्बल्डन विजेता पेट्रा क्विटोभा, नौ पटककी विम्बल्डन च्याम्पियन मार्टिना नाभ्रातिलोभा तथा सन् १९७३ का पुरुष एकल विजेता यान कोडेस पनि उपस्थित थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै