• २०८३ असार २४ बुधबार

आज विश्व छाला स्वास्थ्य दिवस मनाइदै

आज विश्व छाला स्वास्थ्य दिवस मनाइदै

काठमाडौं । आज विश्व छाला स्वास्थ्य दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । अन्तर्राष्ट्रिय छाला रोग समाजहरूको महासंघ र अन्तर्राष्ट्रिय छाला रोग समाजको संयुक्त पहलमा प्रत्येक वर्ष जुलाई ८ मा यो दिवस मनाउने गरिन्छ ।

यस वर्ष दिवसको मूल नारा ‘राम्रो ज्ञान, राम्रो छाला स्वास्थ्य’ रहेको छ । छाला स्वास्थ्यसम्बन्धी सही जानकारी सबैको पहुँचमा पुर्‍याएर छाला रोगको रोकथाम, समयमै पहिचान र प्रभावकारी उपचारमा सहयोग पुर्‍याउने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको हो ।

आयोजक संस्थाहरूका अनुसार सही जानकारीले मानिसलाई छाला रोगका प्रारम्भिक लक्षण चिन्न, सुरक्षित रूपमा छालाको हेरचाह गर्न, छाला रोगप्रतिको भ्रम र विभेद हटाउन, समयमै उपचार खोज्न तथा आफ्नो स्वास्थ्यबारे सही निर्णय लिन सहयोग पुर्‍याउछ ।

त्यस्तै स्वास्थ्यकर्मी, चिकित्सक तथा स्वास्थ्य संस्थाबीच ज्ञान र अनुभव आदानप्रदान हुँदा स्वास्थ्य प्रणाली अझ प्रभावकारी बन्ने, उपचार सेवामा पहुँच विस्तार हुने र समुदायमा छाला स्वास्थ्यसम्बन्धी जनचेतना बढ्ने विश्वास गरिएको छ ।

यस अवसरमा विश्वभरका छाला रोग विशेषज्ञ, स्वास्थ्यकर्मी, बिरामीका संस्था, गैरसरकारी संस्था, जनस्वास्थ्य अभियन्ता तथा समुदायलाई शिक्षा, जनचेतना र सामूहिक अभियानमार्फत छाला स्वास्थ्य प्रवर्द्धनमा सहभागी हुन आह्वान गरिएको छ ।

सन् २०१३ मा सुरु गरिएको विश्व छाला स्वास्थ्य दिवसको उद्देश्य विश्वभर छाला स्वास्थ्यबारे जनचेतना अभिवृद्धि गर्नु, छाला रोगबारे सही बुझाइ विकास गर्नु तथा गुणस्तरीय छाला उपचार सेवामा सबैको पहुँच विस्तार गर्नु हो । सन् २०२४ देखि यो दिवस प्रत्येक वर्ष जुलाई ८ मा मनाउन थालिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै