• २०८३ असार २० शनिबार

विश्वकपको अन्तिम १६ मा प्रमुख दाबेदार फ्रान्सलाई चुनौती दिदै पाराग्वे

विश्वकपको अन्तिम १६ मा प्रमुख दाबेदार फ्रान्सलाई चुनौती दिदै पाराग्वे

काठमाडौँ । जारी फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत भोली बिहान बहुप्रतीक्षित खेलमा पाराग्वेले उपाधिको प्रमुख दाबेदार फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ । अमेरिकाको फिलाडेलफिया स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार भोली बिहान २: ४५ बजेदेखि शुरु हुदैछ ।

जर्मनीलाई स्तब्ध पार्दै अन्तिम १६ मा पुगेको पाराग्वे अर्को ठूलो उलटफेरको खोजीमा हुनेछ भने फ्रान्स क्वार्टरफाइनल यात्रा सुरक्षित गर्ने लक्ष्यमा मैदान उत्रनेछ ।

मुख्य प्रशिक्षक गुस्ताभो अल्फारोको नेतृत्वमा रहेको पाराग्वेले राउण्ड अफ ३२ मा चार पटकको विश्वविजेता जर्मनीसँग निर्धारित र अतिरिक्त समयको खेल १-१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा ४-३ को रोमाञ्चक जित निकालेको थियो । विश्वकपको नकआउट चरणमा पाराग्वेले यसअघि केवल एक पटक मात्र जित निकालेको इतिहास छ । सन् २०१० मा जापानलाई पेनाल्टी सुटआउटमा ५-३ ले हराएर क्वार्टरफाइनल पुगेको पाराग्वे अहिले १६ वर्षपछि पुनः अन्तिम आठमा स्थान बनाउन चाहन्छ ।

यस विश्वकपमा फ्रान्सलाई उपाधिको सबैभन्दा बलियो दाबेदार माने पनि पाराग्वे फेरि एकपटक सबैलाई आश्चर्यचकित पार्ने योजनामा छ । त्यसका लागि टोलीको सबैभन्दा ठूलो आशा युवा आक्रमणकारी जुलियो एन्सिसोमाथि रहनेछ । एन्सिसोले यस विश्वकपमा एक गोल र दुई गोलका अवसर सिर्जना गर्दै तीन गोलमा प्रत्यक्ष योगदान दिएका छन् । उनले आठ प्रहार गरेका छन्, छ गोलको अवसर बनाएका छन्, विपक्षीको पेनाल्टी क्षेत्रभित्र ११ पटक बल छोएका छन् र १२ सफल ड्रिबल पूरा गरेका छन्। यी सबै तथ्याङ्कमा उनी पाराग्वेका उत्कृष्ट खेलाडी बनेका छन् ।

जर्मनीविरुद्ध एन्सिसोले गरेको गोल विश्वकपको नकआउट चरणमा पाराग्वेको इतिहासकै पहिलो गोल थियो । यसअघि टोलीले नकआउटका पाँच खेलमा कुनै गोल गर्न सकेको थिएन ।

यद्यपि आक्रमण पाराग्वेको कमजोर पक्ष नै रहँदै आएको छ । टोलीले विश्वकपका पछिल्ला सात खेलमध्ये कुनै पनि खेलमा एकभन्दा बढी गोल गर्न सकेको छैन । समग्रमा पाराग्वेले विश्वकपका ३१ खेलमा ३३ गोल मात्र गरेको छ, अर्थात् प्रतिखेल औसत १.१ गोल । विश्वकपमा ३० वा त्यसभन्दा बढी खेल खेलेका राष्ट्रमध्ये दक्षिण कोरियाको औसत मात्र यसभन्दा कम रहेको छ ।

यता फ्रान्स भने आक्रमणमा निकै घातक देखिएको छ । राउण्ड अफ ३२ मा स्विडेनलाई ३-० ले हराउँदा किलियन एम्बाप्पेले दुई गोल गरे भने ब्राड्ली बारकोलाले एक गोल थपेका थिए ।

एम्बाप्पेले आठ, उस्मान डेम्बेलेले छ र माइकल ओलिसेले पाँच गोलमा योगदान दिएका छन् । यससँगै सन् २००२ पछि एउटै विश्वकपमा पाँच वा सोभन्दा बढी गोलमा योगदान गर्ने तीन खेलाडी भएको पहिलो टोली फ्रान्स बनेको छ । यसअघि ब्राजिलका रोनाल्डो, रिभाल्डो र रोनाल्डिन्होले यस्तो उपलब्धि हासिल गरेका थिए । यस संस्करणमा फ्रान्सले खेलेका चारै खेलमा कम्तीमा तीन गोल गरेको छ । विश्वकपको एउटै संस्करणमा लगातार पाँच खेलमा तीन वा सोभन्दा बढी गोल गर्ने कीर्तिमान यसअघि केवल जर्मनी र ब्राजिलले मात्र बनाएका छन् । फ्रान्स अहिले त्यस बराबरी गर्ने अवसरको नजिक पुगेको छ । माइकल ओलिसेले यस विश्वकपमा पाँच गोलका अवसर तयार पारेका छन्, जुन सन् १९६६ यताकै उत्कृष्ट प्रदर्शनमध्ये एक हो । एउटै विश्वकपमा यसभन्दा बढी सहयोग केवल ब्राजिलका महान् खेलाडी पेलेले गरेका थिए । यस्तो सशक्त आक्रमण पंक्तिका कारण फ्रान्सका प्रशिक्षक डिडियर डेशचाम्प विश्वकपको नकआउट चरणमा १० जित हासिल गर्ने पहिलो मुख्य प्रशिक्षक बन्ने लक्ष्यमा छन् । उनले यसअघि खेलेका ११ नकआउट खेलमध्ये नौ खेल जितेका छन् । इतिहास पनि फ्रान्सकै पक्षमा देखिन्छ । टोलीले विश्वकपका पछिल्ला सात राउण्ड अफ १६ खेल लगातार जितेको छ । अन्तिम १६ बाट फ्रान्स पछिल्लोपटक सन् १९३४ मा अतिरिक्त समयमा अस्ट्रियासँग ३-२ ले पराजित हुँदै बाहिरिएको थियो ।

पाराग्वे र फ्रान्सबीच सबै प्रतियोगिता गरी यो छैटौँ भेट हुनेछ भने विश्वकपमा तेस्रो पटक आमनेसामने हुन लागेका हुन् । विश्वकपमा भएका दुवै अघिल्ला भेटमा फ्रान्स विजयी भएको थियो । सन् १९५८ मा फ्रान्सले ७-३ को जित निकालेको थियो भने सन् १९९८ मा १-० ले पराजित गरेको थियो । त्यसबेला वर्तमान प्रशिक्षक डेशचाम्प फ्रान्सका कप्तान थिए । फ्रान्स पाराग्वेविरुद्ध अहिलेसम्म अपराजित छ। दुवै टोलीबीचको पछिल्लो भेट सन् २०१७ को मैत्रीपूर्ण खेलमा भएको थियो, जहाँ फ्रान्स ५-० ले विजयी भएको थियो । त्यसैगरी फ्रान्सले सन् १९७८ मा अर्जेन्टिनासँग समूह चरणमा २-१ ले पराजित भएयता दक्षिण अमेरिकी टोलीविरुद्ध विश्वकपमा पेनाल्टी सुटआउटबाहेक कुनै खेल हारेको छैन । त्यसयता उसले ११ खेलमा ६ जित र ५ बराबरीको नतिजा निकालेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै