• २०८३ असार १९ शुक्रबार

जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम

जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम

काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको राउन्ड अफ ३२ अन्तर्गत पोर्चुगलले रोमाञ्चक खेलमा क्रोएसियालाई २-१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ । तर खेल सकिएपछि सबैभन्दा धेरै चर्चा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको भावुक क्षणको भयो । उनले दिवंगत टोलीका सहकर्मी डियोगो जोटाको सम्झनामा २१ नम्बरको जर्सी लगाएर मैदान उत्रिएका थिए ।

जुलाई ३ मा डियोगो जोटाको पहिलो पुण्यतिथि परेको थियो । सन् २०२५ जुलाई ३ मा स्पेनमा भएको सडक दुर्घटनामा जोटा र उनका भाइ आन्द्रे सिल्भाको ज्यान गएको थियो । विवाह भएको ११ दिनमै भएको उक्त दुर्घटनाले फुटबल जगतलाई स्तब्ध बनाएको थियो । जोटाको सम्झनामा सम्पूर्ण पोर्चुगल टोली भावुक देखिएको थियो । रोनाल्डोले २१ नम्बरको जर्सी लगाएर मैदान प्रवेश गरेका थिए भने जितलाई आफ्ना दिवंगत सहकर्मीप्रति समर्पण गरे । अन्तिम सिटी बज्नासाथ उनले टोलीका खेलाडीलाई अँगालो हाल्दै आँखाभरि आँसुका साथ समर्थकप्रति अभिवादन गरेका थिए ।

खेलको ५३औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । त्यसपछि ६८औँ मिनेटमा रोनाल्डोले दबाबका बीच पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल १-१ को बराबरीमा ल्याए । यो विश्वकपको नकआउट चरणमा रोनाल्डोको पहिलो गोल पनि हो । खेल अतिरिक्त समयमा जाने संकेत देखिइरहेका बेला इन्जुरी समयको चौथो मिनेटमा राफायल लियाओको उत्कृष्ट क्रसमा गोन्सालो रामोसले शक्तिशाली हेडमार्फत गोल गर्दै पोर्चुगललाई २-१ को जित दिलाए । त्यसको केहीबेरपछि क्रोएसियाले बराबरी गोल गरे पनि भिडियो सहायक निर्णायक प्रणालीले अफसाइड ठहर गर्दै गोल रद्द गरेको थियो ।

डियोगो जोटा पोर्चुगलका भरपर्दा अग्रपङ्क्तिका खेलाडीमध्ये एक थिए । उनले राष्ट्रिय टोलीका लागि ४९ खेलमा १४ गोल गरेका थिए । विश्वकप २०२६ मा पनि उनी टोलीका महत्त्वपूर्ण सदस्य रहने अपेक्षा गरिएको थियो । गोन्डोमारबाट फुटबल यात्रा सुरु गरेका जोटाले पाकोस दि फेरेरा, पोर्टो, वुल्भरह्याम्प्टन र अन्तिममा लिभरपुलसम्मको यात्रा तय गरेका थिए । चर्चित फुटबल एकेडेमीबाट नभई आफ्नै मिहिनेतका बलमा उनले विश्व फुटबलमा विशेष पहिचान बनाएका थिए ।

क्रोएसियामाथिको यस जितसँगै पोर्चुगल अन्तिम १६ मा पुगेको छ, जहाँ अब उसको सामना स्पेनसँग हुनेछ । तर यो जितभन्दा पनि रोनाल्डोले दिवंगत सहकर्मी डियोगो जोटाको सम्झनामा २१ नम्बरको जर्सी लगाएर आँसुसहित मैदानबाट बाहिरिएको दृश्यले विश्वभरका फुटबल समर्थकको मन छोएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै