काठमाडौँ । भेनेजुएलामा गएको विनाशकारी भूकम्पको ६ दिनपछि भग्नावशेषबाट तीन वर्षीय बालकलाई जीवितै उद्धार गरिएको छ । उद्धारसँगै भूकम्प प्रभावित क्षेत्रमा अझै जीवित व्यक्तिहरू फेला पार्न सकिने आशा बढेको छ ।
जोर्डनको उद्धार टोलीले तीन वर्षीय क्लाइबर मोरानलाई ला ग्वाइरा राज्यको भत्किएको भवनबाट जीवितै बाहिर निकालेको जनाएको छ । अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बालकको उद्धारलाई 'देशका लागि आशाको किरण' भएको बताएकी छन् ।
उद्धारपछि बालकलाई प्राथमिक उपचार गरी अस्पताल लगिएको थियो । चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर छ । उनी राजधानी काराकासस्थित अस्पतालमा उपचाररत छन् ।
गत साता ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएपछि भेनेजुएलामा ठूलो जनधनको क्षति भएको छ। हालसम्म मृत्यु हुनेको संख्या एक हजार ९४३ पुगेको छ भने १० हजारभन्दा बढी घाइते भएका छन् । अझै पनि हजारौं मानिस सम्पर्कविहीन रहेका छन् । प्रारम्भिक उपग्रह विश्लेषणअनुसार करिब ५८ हजार ८७० भवन पूर्ण वा आंशिक रूपमा ध्वस्त भएको अनुमान गरिएको छ ।
भूकम्पपछि पहिलो ७२ घण्टालाई भग्नावशेषमा पुरिएकालाई जीवित उद्धार गर्ने सबैभन्दा महत्वपूर्ण समय मानिन्छ । त्यसपछि ६ दिन बित्दा पनि बालक जीवित भेटिनुलाई उद्धारकर्मीहरूले असाधारण सफलता मानेका छन् ।
सबैभन्दा बढी प्रभावित ला ग्वाइरा क्षेत्रमा स्थानीय बासिन्दाले आफ्नै प्रयासमा उद्धार कार्य जारी राखेका छन् । तर त्यहाँ खाद्यान्नको अभाव, खानेपानी, स्वास्थ्य सेवा र सञ्चार प्रणाली लगभग ठप्प भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयका अनुसार राहत सामग्रीको पहुँच सीमित हुँदा प्रभावित समुदायमा तनाव बढ्दै गएको छ । संयुक्त राष्ट्रसंघले आगामी ६ महिनासम्म ३० हजार भूकम्प प्रभावितलाई अस्थायी आवास, राहत सामग्री र संरक्षण सेवा उपलब्ध गराउन प्रारम्भिक रूपमा एक करोड ५० लाख अमेरिकी डलर आवश्यक पर्ने जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले पनि स्वास्थ्य सेवा अत्यधिक दबाबमा रहेको जनाएको छ। कम खोप कवरेजका कारण दादुरा र डिप्थेरियाजस्ता रोग फैलिने जोखिम बढेको संगठनको चेतावनी छ । भेनेजुएलाका नेशनल एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजले क्लाइबरको उद्धारले अझै पनि जीवित व्यक्तिहरू भेटिने आशा कायम रहेको बताएका छन् । उनका अनुसार स्वदेशी तथा अन्तर्राष्ट्रिय उद्धार टोलीहरूले अझै भग्नावशेषमा खोजी जारी राखेका छन् भने प्रभावित क्षेत्रमा अस्थायी आश्रयस्थल सञ्चालनमा ल्याइएको छ ।
अमेरिका, मेक्सिकोसहित दर्जनौं देशका उद्धार टोलीहरू तालिमप्राप्त कुकुर र भारी उपकरणसहित खोज तथा उद्धारमा खटिएका छन्।









