• २०८३ असार १३ शनिबार

१८ वर्ष मुनिका बालबालिकालाई राजनीतिक दलको सदस्य नबनाउन काँग्रेसको सार्वजनिक अपिल

१८ वर्ष मुनिका बालबालिकालाई राजनीतिक दलको सदस्य नबनाउन काँग्रेसको सार्वजनिक अपिल

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि राजनीतिक दलको सदस्य नबनाउन सार्वजनिक अपिल गरेको छ । प्रतिष्ठानले संविधान, कानुन र अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत बालबालिकालाई पार्टी सदस्य बनाउने कार्य आपत्तिजनक र लज्जास्पद भएको जनाएको छ ।

नेपाली कांग्रेसले डिजिटल प्रणालीमार्फत सुरु गरेको नयाँ क्रियाशील सदस्यता वितरणमा पार्टीको सिद्धान्त र नीतिप्रति प्रतिबद्ध नेपाली नागरिकले मात्र क्रियाशील सदस्यता प्राप्त गर्न सक्ने र त्यसका लागि अनिवार्य रूपमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने स्पष्ट गरिएको समेत उल्लेख गरिएको छ ।

विज्ञप्तिमा नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र बालबालिका सम्बन्धी ऐन, २०७५ ले राजनीतिक दलको सदस्य बन्न कम्तीमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था गरेको उल्लेख गरिएको छ । साथै, नेपाल पक्ष राष्ट्र रहेको संयुक्त राष्ट्रसंघीय बाल अधिकारसम्बन्धी महासन्धिले पनि बालबालिकालाई राजनीतिक स्वार्थ र दलीय प्रयोगबाट टाढा राख्नुपर्ने व्यवस्था गरेको स्मरण गराइएको छ ।

यी कानुन र अन्तर्राष्ट्रिय प्रतिबद्धताको पालना गर्नु सत्ता र प्रतिपक्ष दुवैको साझा दायित्व भएको जनाएको छ । कुनै पनि दलले बालबालिकालाई सदस्य बनाएमा सम्बन्धित दलसँगै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छविमा समेत नकारात्मक असर पर्ने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा प्रधानमन्त्री आबद्ध दलको सदस्यता विवरणमा संविधान, कानुन र बाल अधिकारसम्बन्धी व्यवस्थाविपरीत अवस्था देखिएको दाबी गर्दै त्यसबारे प्रधानमन्त्रीले सार्वजनिक जवाफ दिनुपर्ने र कानुन कार्यान्वयनमा सक्रियता देखाउनुपर्ने अपेक्षा गरिएको छ ।

साथै सदस्य संख्या बढाउने प्रतिस्पर्धाका नाममा बालबालिकाको अधिकार हनन गर्ने र कानुनविपरीत गतिविधि नगर्न सबै राजनीतिक दल तथा आफ्ना पार्टीका सबै तहका समितिलाई आह्वान गरेको छ । बालबालिकाको अधिकार संरक्षण र सुरक्षित तथा बालमैत्री वातावरण निर्माणमा सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन महाधिवेशनको बन्दसत्रमा महामन्त्री कविन्द्र बुर्लाकोटीले पेश गरेको प्रतिवेदनमा पार्टीका करिब ६ प्रतिशत सदस्य १८ बर्षभन्दा मुनिका भएको उल्लेख भएपछि यो विषय चर्चामा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै