• २०८३ असार ९ मंगलबार

विश्वकपमा आज बिहान कोलम्बिया र डिआर कङ्गो आमने सामने

विश्वकपमा आज बिहान कोलम्बिया र  डिआर कङ्गो आमने सामने

काठमाडौँ । उज्बेकिस्तानलाई ३–१ ले हराउँदै विश्वकप अभियानको विजयी सुरुआत गरेको कोलम्बिया आज बिहान मेक्सिकोको ग्वाडालाहारामा डिआर कङ्गोसँग भिड्दै लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । समूह ‘के’ अन्तर्गत यो खेल नेपाली समय अनुसार आज बिहान ७: ४५ बजेदेखि शुरु हुदैछ ।

दुई टोलीबीचको पहिलो भेट हुनेछ । तर उज्बेकिस्तानविरुद्ध जस्तै कोलम्बिया अपरिचित प्रतिद्वन्द्वीबाट प्रभावित नहुने विश्वासमा छ ।

हालका विश्वकप संस्करणहरूमा कोलम्बियाले समूह चरणमा प्रभावशाली प्रदर्शन गर्दै आएको छ । उसले पछिल्ला सात खेलमध्ये ६ खेल जितेको छ भने सन् २०१८ मा जापानसँग २-१ ले पराजित भएको खेल मात्रै अपवाद बनेको थियो ।

यो अवधिमा प्रशिक्षक नेस्टोर लोरेन्जोको टोलीले १७ गोल गरेको छ भने केवल पाँच गोल मात्र बेहोरेको छ । त्यसैले डिआर कङ्गोका लागि यो खेल कठिन बन्न सक्ने अनुमान गरिएको छ ।

यद्यपि, डिआर कङ्गोले पहिलो खेलमा पोर्चुगलविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै आफू पनि चुनौतीपूर्ण टोली भएको संकेत दिएको थियो । ५२ वर्षपछि विश्वकपमा फर्किएको सेबास्टियन डेसाब्रेको टोलीले प्रतियोगिताकै ठूलो आश्चर्यमध्ये एक नतिजा निकाल्दै क्रिस्टियानो रोनाल्डोको पोर्चुगलसँग १-१ को बराबरी खेलेको थियो ।

त्यो नतिजासँगै डिआर कङ्गोले विश्वकप इतिहासमै पहिलो अंक र पहिलो गोल दर्ता गर्‍यो । योआने विस्साले पहिलो हाफमा हेडरमार्फत ऐतिहासिक गोल गरेका थिए ।

यसअघि सन् १९७४ मा जाइरेको नाममा विश्वकप खेलेको डिआर कङ्गोले समूह चरणका तीनै खेल हार्दै १४-० को समग्र अन्तर बेहोरेको थियो। तर यसपटकको टोलीले फरक कथा लेख्ने संकेत देखाइसकेको छ । तर लुइस डियाज र हामेस रोड्रिगेजजस्ता खेलाडीलाई रोक्नु भने डिआर कङ्गोका लागि निकै कठिन चुनौती बन्न सक्छ । किनभने कोलम्बियाले विश्वकपका पछिल्ला १० खेलमा लगातार गोल गर्न सफल भएको छ ।

यो प्रतियोगितामा साविक विजेता अर्जेन्टिनासँगै कोलम्बियाको यो सबैभन्दा लामो सक्रिय गोल गर्ने शृङ्खला हो ।

यदि कोलम्बियाले यस खेलमा जित निकाल्यो भने उसले लगातार तेस्रो विश्वकपमा नकआउट चरणको यात्रा सुनिश्चित गर्नेछ । यसअघि उसले सन् २०१४ र २०१८ मा पनि समूह चरण पार गरेको थियो। त्यसअघि भने चार सहभागितामध्ये एक पटक मात्रै अन्तिम १६ मा पुगेको थियो ।

कोलम्बियाको सफलतामा लुइस डियाजको भूमिका महत्वपूर्ण बन्न सक्छ । उनले उज्बेकिस्तानविरुद्ध एक गोल र एक गोलका लागि अवसर सिर्जना गरेका थिए । उनले विपक्षीको पेनाल्टी क्षेत्रमा छ पटक बल छोएका थिए भने चार पटक ड्रिबल, आठ द्वन्द्वमा सफलता र पाँच पटक फाउल जितेका थिए। यी सबै तथ्याङ्क टोलीमा सर्वाधिक थिए।

उता डिआर कङ्गो फेरि पनि विस्साबाट प्रेरणा खोज्नेछ । यदि उनले ग्वाडालाहारामा गोल गर्न सके भने विश्वकपका पहिलो दुई खेलमा लगातार गोल गर्ने दोस्रो अफ्रिकी खेलाडी बन्नेछन् । यसअघि सन् २०१८ मा इजिप्टका मोहम्मद सलाहले यस्तो उपलब्धि हासिल गरेका थिए ।

यस खेलमा धेरै नयाँ तथ्यहरू पनि जोडिनेछन् । यो कोलम्बिया र डिआर कङ्गोबीचको पहिलो प्रतिस्पर्धा हुनेछ । यस्तै, डिआर कङ्गोले दक्षिण अमेरिकी फुटबल महासंघअन्तर्गतको टोलीसँग खेल्ने यो दोस्रो अवसर हुनेछ । विश्वकपअघि भएको मैत्रीपूर्ण खेलमा ऊ चिलीसँग २-१ ले पराजित भएको थियो । अफ्रिकी टोलीविरुद्धको आफ्नो पहिलो विश्वकप खेलमा कोलम्बिया सन् १९९० मा क्यामरुनसँग २-१ ले पराजित भएको थियो। त्यसपछि भने उसले अफ्रिकी टोलीविरुद्धका तीनै खेल जितेको छ। कोलम्बियाले सन् १९९० मा ट्युनिसियालाई १-०, सन् २०१४ मा आइभरी कोस्टलाई २-१ र सन् २०१८ मा सेनेगललाई १-० ले पराजित गरेको थियो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै