काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विपक्षी दलका नेताहरूलाई लक्षित गरेर निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गर्न चेतावनी दिएका छन् ।
सोमबार पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि विज्ञप्ति जारी अध्यक्ष ओलीले सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख रहेको बताउदै प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गर्न चेतावनी दिएका हुन् ।
उनले भनेका छन्- 'वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख छ । हामी सरकारलाई चेतावनी दिन चाहन्छौँ । विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गरियोस् ।'
विज्ञप्तिमा ओलीले एमाले सदैव कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा दृढतापूर्वक उभिँदै आएको उल्लेख गर्दै वर्तमान सत्तापक्षले विपक्षी दलहरूप्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नांगो प्रतिशोधको यो अर्को पराकाष्ठा भएको बताएका छन् । उनले यो दमनकारी कदम आफु र एमालेमाथि लगातार भइरहेका श्रृंखलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट रहेको उल्लेख गरेका छन् ।
ओलीले विधिको शासन र सामान्य कानुनी प्रक्रियाको समेत धज्जी उडाउँदै, जुनसुकै बेला सोधपुछ गर्न सकिने वा पौडेलकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने विकल्पलाई नियतवश लत्याइएको समेत आरोप लगाएका छन् ।
सार्वजनिक पदधारण गरिसकेका र कानुनलाई सदैव सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो ‘स्टन्ट’ र सस्तो राजनीतिक खपतका लागि बदनियतपूर्वक गिरफ्तार गरिएको बताएका छन् । उनले भनेका छन्- 'सत्ताको उन्मादमा गरिएको यस प्रकारको अधिनायकवादी कदमको हाम्रो पार्टी डटेर सामना गर्नेछ ।'
पार्टीको कार्यक्रममा सुर्खेतमा रहेका उपाध्यक्ष पौडेललाई प्रहरीले सोमबार पक्राउ गरेको थियो ।









