• २०८३ असार ६ शनिबार

अष्ट्रेलियामाथि अमेरिकाको प्रभावशाली जित, नकआउटमा छनौट

अष्ट्रेलियामाथि अमेरिकाको प्रभावशाली जित, नकआउटमा छनौट

काठमाडौँ । आयोजक राष्ट्र अमेरिकाले प्रभावशाली प्रदर्शन गर्दै अष्ट्रेलियालाई २–० ले पराजित गरेर विश्वकप समूह चरणको शीर्ष स्थानतर्फ बलियो कदम चालेको छ।

खचाखच भरिएको सियाटल रंगशालामा भएको खेलमा अमेरिकाले सुरुदेखि नै उच्च दबाब सिर्जना गरेको थियो । यस जितसँगै अमेरिका सन् १९३० पछि पहिलो पटक विश्वकपमा लगातार दुई खेल जित्दै अन्तिम ३२ मा पुगेको छ ।

यदि टर्कीले आज पाराग्वेलाई पराजित गर्न नसके अमेरिका समूह विजेता बन्नेछ । यद्यपि टोली तेस्रो स्थानमा झर्ने सम्भावना पनि कायम रहेकाले उत्कृष्ट आठ तेस्रो स्थान प्राप्त टोलीमध्ये एकका रूपमा पनि अघि बढ्न सक्छ ।

पिँडुलाको चोटका कारण प्रमुख खेलाडी क्रिस्टियन पुलिसिक अनुपस्थित रहे पनि अमेरिकाले त्यसको असर महसुस हुन दिएन। खेलको ११औँ मिनेटमा फ्लोरिन बालोगनको क्रस रोक्ने क्रममा अष्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसले आत्मघाती गोल गरेपछि अमेरिका अघि बढेको थियो ।

पहिलो हाफ सकिन केही मिनेट बाँकी रहँदा एलेक्स फ्रिम्यानले सर्जिनो डेस्टको प्रहारबाट फर्किएको बललाई हेडमार्फत जाली चुमाउँदै अग्रता दोब्बर बनाए। सुरुमा अफसाइड भनिए पनि भिडियो सहायक रेफ्रीको परीक्षणपछि गोललाई मान्यता दिइएको थियो । पहिलो खेलमा पाराग्वेविरुद्ध दुई गोल गरेका बालोगनले यस खेलमा पनि उत्कृष्ट प्रदर्शन गरे। अष्ट्रेलियाले भने खेलभर खासै दबाब सिर्जना गर्न सकेन ।

दोस्रो हाफमा नेस्टोरी इरानकुन्डा मैदान प्रवेश गरेपछि अष्ट्रेलियाको प्रदर्शन केही सुधारिएको थियो। कप्तान ह्यारी साउटरले पनि अवसर पाए तर त्यसलाई गोलमा परिणत गर्न सकेनन् ।

यदि अमेरिका समूह ‘डी’ को शीर्ष स्थानमा रह्यो भने अन्तिम ३२ मा उसले तेस्रो स्थान हासिल गरेको टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै