काठमाडौँ । प्रविधि कम्पनी एप्पलले छिट्टै आइफोनसहित आफ्ना अन्य उत्पादनको मूल्य बढाउन सक्ने संकेत गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले विश्वव्यापी रूपमा मेमोरी र भण्डारण चिपको अभाव बढ्दै जाँदा उत्पादन लागत उल्लेखनीय रूपमा बढेको बताएका छन् ।
उनका अनुसार एप्पलले अहिलेसम्म बढेको लागत आफैंले व्यहोर्दै आएको थियो । तर आपूर्तिकर्ताबाट बढ्दो दबाब आएपछि अब मूल्य वृद्धि गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
यसको प्रत्यक्ष असर यसै वर्ष सार्वजनिक हुने अपेक्षा गरिएको आइफोन १८ सिरिजमा पर्न सक्ने अनुमान गरिएको छ । यसअघि मूल्य स्थिर रहने चर्चा भए पनि टिम कुकको अभिव्यक्तिपछि नयाँ मोडेल महँगो हुन सक्ने सम्भावना बढेको छ ।
यसअघि साओमी, वनप्लस र ओप्पो जस्ता कम्पनीहरूले आफ्ना स्मार्टफोनको मूल्य बढाइसकेका छन् । एप्पलले भने लामो समयसम्म आफ्ना प्रमुख मोडेलको प्रारम्भिक मूल्य स्थिर राख्दै बजारमा प्रतिस्पर्धात्मक स्थिति कायम राखेको थियो ।
टिम कुकको यो भनाइ एप्पलले आफ्नो पहिलो फोल्ड गर्न मिल्ने आइफोन तथा आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्स सार्वजनिक गर्ने तयारी गरिरहेका बेला आएको हो । फोल्ड गर्न मिल्ने उपकरणमा प्रयोग हुने सामग्रीको लागत सामान्य स्मार्टफोनभन्दा धेरै हुने भएकाले मूल्यमा थप दबाब पर्ने देखिएको छ ।
उनले एप्पलले आफ्नै चिप उत्पादन कारखाना स्थापना नगर्ने स्पष्ट पार्दै आपूर्ति सुदृढ बनाउन नयाँ स्रोत र विकल्प खोजिने बताए । साथै भूराजनीतिक र नियामकीय अवरोधका कारण सीमित भएका आपूर्ति सञ्जालको पनि पुनर्मूल्याङ्कन गरिने उनले जानकारी दिए ।
विश्वव्यापी कृत्रिम बुद्धिमत्ता प्रविधिको तीव्र विस्तारले पनि चिपको माग असाधारण रूपमा बढाएको छ । कृत्रिम बुद्धिमत्तासम्बन्धी सर्भर र डाटा केन्द्रमा अत्यधिक चिप प्रयोग हुन थालेपछि स्मार्टफोन तथा अन्य उपभोक्ता सामग्री उत्पादक कम्पनीहरूमा आवश्यक सामग्रीको अभाव देखिन थालेको हो ।
विशेषज्ञहरूका अनुसार यो समस्या स्मार्टफोन उद्योगमा मात्रै सीमित छैन । सवारीसाधन, विद्युतीय उपकरण र अन्य उपभोक्ता सामग्रीको मूल्य पनि आगामी दिनमा बढ्न सक्ने चेतावनी उद्योग क्षेत्रले दिएको छ ।









