• २०८३ असार ५ शुक्रबार

विश्वकपको दोस्रो खेलमा ब्राजिल हाइटीसँग भोलि बिहान भिड्दै

विश्वकपको दोस्रो खेलमा ब्राजिल हाइटीसँग भोलि बिहान भिड्दै

काठमाडौँ । जारी फिफा विश्वकप अन्तर्गत आफ्नो अभियानलाई गति दिने लक्ष्यसहित पाँच पटकको विश्व विजेता ब्राजिल भोली बिहान समूह चरणको दोस्रो खेलमा हाइटीसँग भिड्दैछ।

अमेरिकाको फिलाडेफियामा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुदैछ ।

पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग १–१ को बराबरी खेलेको थियो । सो खेलमा उनीहरू २१ औँ मिनेटमा इसमाइल साबिरीको गोलबाट पछि परे पनि भिनिसियस जुनियरले उत्कृष्ट बराबरी गोल फर्काएका थिए । त्यस खेलमा ब्राजिलले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको थिएन । ब्राजिलले विश्वकप इतिहासमा लगातार पहिलो दुई खेल जित्न नसकेको पछिल्लो घटना सन् १९७८ मा देखिएको थियो । त्यतिबेला समूह चरणमै कमजोर प्रदर्शनका कारण टोली अगाडि बढ्न सकेको थिएन । यद्यपि अहिले नयाँ ढाँचामा ४८ टोली सहभागी भएकाले ब्राजिल अझै बलियो स्थितिमा रहेको मानिन्छ ।

अघिल्लो खेलमा ब्राजिलले मोरक्कोभन्दा कम प्रभाव देखाएको तथ्य पनि चिन्ताको विषय बनेको छ । सो खेलमा उनीहरूले विपक्षीभन्दा कम प्रहार गरेका थिए, जुन अवस्था लामो समयपछि पहिलो पटक देखिएको हो ।

ब्राजिलका लागि भिनिसियस जुनियर मुख्य खेलाडीका रूपमा हेरिएका छन् । पछिल्ला विश्वकप खेलहरूमा उनले राम्रो प्रभाव छाड्दै आएका छन्, गोल र असिस्ट दुवैमा महत्वपूर्ण योगदान दिएका छन् । ब्राजिलले आफ्ना प्रमुख मानिएका खेलाडी नेइमारलाई यस खेलमा पनि गुमाउने छ । इन्जुरिका कारण खेल्न नसकेका नेइमार अबको केहि दिनमा खेल्न सक्ने बताइएको छ ।   

उता, हाइटीले ५४ वर्षपछि विश्वकपमा पुनः स्थान बनाएको हो । अन्तिम पटक उनीहरू सन् १९७४ मा विश्वकपमा पुगेका थिए । पहिलो खेलमा स्कटल्यान्डसँग १–० ले पराजित भएपछि उनीहरूको नकआउट चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।

हाइटीको विश्वकप इतिहास पनि कमजोर छ । अहिलेसम्म खेलेका सबै खेलमा उनीहरू पराजित भएका छन् र गोल संख्या पनि निकै कम छ ।

पहिलो खेलमा पराजय भए पनि हाइटीले प्रहार र आक्रामक खेलमा केही सुधार देखाएको थियो । तर बलियो ब्राजिलविरुद्ध त्यो प्रदर्शन दोहोर्‍याउन उनीहरूलाई कठिन देखिन्छ ।

यी दुई टोली विश्वकपमा पहिलो पटक आमनेसामने हुँदैछन् । यसअघि भएका तीन भेटमा भने ब्राजिलले सबै खेल जितेको छ। ती खेलमा ब्राजिलले ठूलो अन्तरले जित हासिल गरेको इतिहास पनि छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै