• २०८३ असार ३ बुधबार

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा तत्कालीन महानिर्देशक गौतम पुर्पक्षका लागि थुनामा

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा तत्कालीन महानिर्देशक गौतम पुर्पक्षका लागि थुनामा

काठमाडौं । विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

मंगलबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले गौतमलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

अदालतले उपलब्ध प्रमाण, प्रतिवादीको बयान तथा मिसिल संलग्न कागजात अध्ययनपछि गौतमविरुद्धको अभियोगमा थप प्रमाण परीक्षण गर्नुपर्ने देखिएकाले उनलाई थुनामा राखी पुर्पक्ष गर्नुपर्ने निष्कर्ष निकालेको आदेशमा उल्लेख छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा परामर्शदाता (डिजाइन रिभ्यु तथा निर्माण सुपरिवेक्षण) नियुक्तिको प्रक्रियामा लागत कृत्रिम रूपमा बढाई प्राधिकरणलाई ८ करोड ९५ लाख नोक्सानी पुर्‍याएको आरोपमा गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

आदेशमा गौतमले अनुसन्धानका क्रममा र अदालतमा दिएको बयानमा आफूले कुनै रकम हिनामिना नगरेको र आरोपित कसुरमा इन्कार गरेको उल्लेख भए पनि, हालसम्म प्राप्त आधार, प्रमाण तथा खरिद सम्झौतासम्बन्धी कागजातबाट उनीविरुद्धको अभियोग प्रथम दृष्टिमै पुष्टि हुने आधार देखिएको उल्लेख गरिएको छ ।

विशेष अदालतले विशेष अदालत ऐन, २०५९ को दफा ७ को खण्ड (ङ) बमोजिम गौतमलाई थुनुवा पुर्जी दिई सम्बन्धित कारागार कार्यालयमा पठाउन आदेशमा उल्लेख छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै