काठमाडौँ । फिफा विश्वकपमा पहिलो पटक अर्बपति फुटबल खेलाडीहरू मैदानमा देखिने भएका छन् ।
अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले प्रतियोगितामा सहभागी हुने सबैभन्दा धेरै कमाइ गर्ने खेलाडीहरूको सूची सार्वजनिक गरेको छ, जसमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पहिलो स्थानमा रहेका छन् भने अर्जेन्टिनाका कप्तान लियोनेल मेसी दोस्रो स्थानमा छन् । फोर्ब्सका अनुसार रोनाल्डो र मेसी दुवैको कुल सम्पत्ति एक अर्ब अमेरिकी डलरभन्दा बढी छ । विश्वकप सुरु हुनुअघि पछिल्लो १२ महिनामा सबैभन्दा धेरै कमाइ गर्ने ११ खेलाडीले संयुक्त रूपमा करिब ९५ करोड अमेरिकी डलर आम्दानी गरेका छन् ।
यसपटकको विश्वकप जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा भइरहेको छ । प्रतियोगितामा पहिलो पटक ४८ टोली सहभागी भएका छन् र कुल १०४ खेल खेलिनेछन् ।
४१ वर्षीय रोनाल्डो पछिल्लो एक वर्षमा करिब ३० करोड अमेरिकी डलर आम्दानी गर्दै सूचीको शीर्ष स्थानमा छन् । उनको आम्दानीको ठूलो हिस्सा तलब, बोनस र मैदानभित्रको प्रदर्शनबाट आएको हो भने बाँकी रकम विज्ञापन, प्रायोजन तथा विभिन्न व्यावसायिक गतिविधिबाट प्राप्त भएको हो । साउदी अरबको अल–नासरबाट खेलिरहेका रोनाल्डो एक अर्ब डलरभन्दा बढी सम्पत्ति भएका सक्रिय खेलाडीहरूमध्ये एक हुन् । उनी आफ्नो करियरको छैटौँ विश्वकप खेलिरहेका छन् ।
सन् २०२२ को विश्वकप जिताएका मेसी सूचीको दोस्रो स्थानमा छन् । उनले पछिल्लो १२ महिनामा करिब १४ करोड अमेरिकी डलर आम्दानी गरेका छन् । उनको आम्दानीको आधा हिस्सा फुटबलबाट र बाँकी आधा विज्ञापन तथा व्यापारिक गतिविधिबाट आएको बताइएको छ । अमेरिकी क्लब इन्टर मियामीबाट खेलिरहेका मेसीको कुल सम्पत्ति करिब १.१ अर्ब अमेरिकी डलर रहेको अनुमान गरिएको छ । उनी पनि आफ्नो छैटौँ विश्वकप खेलिरहेका छन् ।
विश्वकपमा थप चार गोल गर्न सके मेसी जर्मनीकामिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान पार गर्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्न सक्ने सम्भावना छ ।
फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे सूचीको तेस्रो स्थानमा छन् । रियल म्याड्रिडका यी खेलाडीले पछिल्लो वर्ष करिब ९ करोड ५० लाख अमेरिकी डलर आम्दानी गरेका छन् । त्यस्तै नर्वेका स्ट्राइकर इर्लिंग हलाण्ड ८ करोड अमेरिकी डलर आम्दानीसहित चौथो स्थानमा छन् । त्यस्तै ब्राजिलका भिनिसियस जुनियर करिब ६ करोड अमेरिकी डलर आम्दानीसहित पाँचौँ स्थानमा रहेका छन् ।
स्पेनका १८ वर्षीय युवा खेलाडी लामिन यमल यस सूचीको सबैभन्दा ठूलो आकर्षण बनेका छन् । उनले पछिल्लो एक वर्षमा करिब ४ करोड ३० लाख अमेरिकी डलर आम्दानी गर्दै नवौँ स्थान हासिल गरेका छन् । कम उमेरमै उनको बढ्दो लोकप्रियता र व्यावसायिक मूल्यले फुटबल बजारमा उनको प्रभाव झल्काएको छ ।
त्यस्तै इजिप्टका मोहमद सलाह छैटौँ, सेनेगलका साडियो माने सातौँ, इङल्याण्डका जुड बेलिङघम आठौँ, ह्यारी केन दशौँ तथा ब्राजिलका नेइमार ११औँ स्थानमा रहेका छन् ।
फोर्ब्सले खेलाडीहरूको वार्षिक तलब, बोनस, छवि अधिकार, विज्ञापन तथा प्रायोजनबाट प्राप्त आम्दानीका आधारमा यो सूची तयार गरेको जनाएको छ । व्यक्तिगत लगानीबाट आएको प्रतिफल, कर, स्थानान्तरण शुल्क तथा एजेन्टलाई दिइने कमिसन भने गणनामा समावेश गरिएको छैन ।









