काठमाडौँ । आयरल्यान्डको बेलफास्टमा एक रैथाने आइरिस नागरिकको घाँटी रेटेर हत्या गर्ने प्रयास भएपछि सुरु भएको विरोध प्रदर्शन भीषण आप्रवासी विरोधी दङ्गामा परिणत भएको छ ।
हिंसात्मक प्रदर्शनकारीहरूले आयरल्यान्ड र बेलायतका एक दर्जनभन्दा बढी स्थानमा हिंसा, आगजनी र लुटपाट मच्चाएका छन् । विशेष गरी बेलफास्ट र आसपासका क्षेत्रमा मास्क लगाएका उपद्रवीहरूको भीडले सर्वसाधारणका घर, पसल, बस र कारहरूलाई निसाना बनाएका छन् ।
बेलफास्टको न्युटाउनार्ड्स रोडमा थुप्रै गाडीहरूमा आगो लगाइएको छ भने स्याङ्किल क्षेत्रमा दुईवटा पसलहरू लुटिएका छन् । दङ्गाकारीहरूले एक अफ्रिकी मूलका आप्रवासीको पसलमा समेत आगजनी गरेका छन्। यो हिंसाको राँको लन्डनको पार्लियामेन्ट स्क्वायर र स्कटल्यान्डको ग्लासगोसम्म पुगेको छ, जहाँ आप्रवासी विरोधी प्रदर्शनका क्रममा ठुलो मात्रामा हिंसा र झडप भएका छन् ।
यो हिंसाको सुरुवात बेलफास्टमा घटेको एउटा चक्कु प्रहारको घटनापछि भएको हो । त्यहाँ सुडानका एक शरणार्थी र एक आइरिस नागरिकबिच्छ विवाद भएको थियो । सोही क्रममा हादी नाम गरेका ती सुडानी शरणार्थीले चक्कुले आइरिस नागरिकको घाँटी रेट्ने प्रयास गरेका थिए । आक्रमणमा परी ४० वर्षीय आइरिस नागरिक गम्भीर घाइते भएका छन् । यस घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भए लगत्तै प्रदर्शनका लागि आह्वान तीव्र पारिएको थियो ।
प्रहरीका अनुसार चक्कु प्रहारका आरोपी हादी अलोदिद सुडानबाट पेरिस र त्यसपछि डब्लिन हुँदै सन् २०२३ मा बेलफास्ट आइपुगेका थिए । त्यहाँ उनले शरणका लागि आवेदन दिएका थिए र उनलाई सन् २०२८ सम्म बेलायतमा बस्ने अनुमति (भिसा) प्राप्त भइसकेको थियो ।
दक्षिणपन्थी तथा आप्रवासी विरोधी समूहहरूले चक्कु प्रहारको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलाएका छन् । कट्टरपन्थी एवं आप्रवासी विरोधी नेता टमी रोबिन्सनले सो भिडियो सेयर गर्दै पूरे बेलायतका जनतालाई 'सडकमा उत्रिन' अपिल गरेका थिए । त्यसपछि नै मास्क लगाएका हजारौँ मानिसहरूको भीड सडकमा उत्रिएको हो ।
यस घटनालाई लिएर प्रवासन नीतिको विषयमा ठुलो राजनीतिक बहस सुरु भएको छ । प्रख्यात व्यवसायी एलन मस्कले सामाजिक सञ्जालमा आफ्नो एउटा भिडियो सेयर गर्दै लेखेका छन्, 'जोडदार प्रदर्शनबाट मात्रै परिवर्तन सम्भव छ ।' भन्दै प्रदर्शनको समर्थन गरेका छन् ।
अर्कोतर्फ, बेलायतको कट्टरपन्थी राजनीतिक दल 'रिफर्म यूके' ले यो हिंसालाई फितलो प्रवासन नीतिको परिणाम भन्दै भिसामा कडा प्रतिबन्ध लगाउनुपर्ने आफ्नो पुरानो मागलाई पुनः दोहोर्याएको छ ।









