• २०८३ जेठ २७ बुधबार

हेलिकप्टर खसालेको भन्दै इरानमाथि अमेरिकाको जवाफी आक्रमण

हेलिकप्टर खसालेको भन्दै इरानमाथि अमेरिकाको जवाफी आक्रमण

काठमाडौँ । अमेरिकाले गए राति इरानमाथि हवाई आक्रमण गरेको छ । अमेरिकी केन्द्रीय कमान्डले होर्मुज जलडमरूमध्य नजिक अमेरिकी अपाचे हेलिकोप्टर खसालिएको घटनाको जवाफस्वरूप उक्त कारबाही गरिएको जनाएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गस्तीमा रहेको अमेरिकी एएच–६४ अपाचे हेलिकोप्टर इरानले खसालेको दाबी गरेका थिए । यद्यपि हेलिकोप्टरका दुवै चालक सुरक्षित रहेको उनले बताएका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिका यस आक्रमणको जवाफ दिन बाध्य भएको उल्लेख गरेका थिए ।

हेलिकोप्टर दुर्घटनाबारे भने फरक–फरक दाबी सार्वजनिक भएका छन् । एक अमेरिकी अधिकारीका अनुसार अपाचे हेलिकोप्टर इरानी ड्रोनसँग ठोक्किएपछि दुर्घटनाग्रस्त भएको थियो । घटनाको अनुसन्धान जारी रहेको जनाइएको छ ।

उता इरानका विदेशमन्त्री अब्बास अर्घचीले इरानी सेनाले प्रत्येक आक्रमणको प्रतिकार गर्ने चेतावनी दिएका छन् । उनले अमेरिका सुरक्षित रहन चाहन्छ भने आफ्नो क्षेत्रबाट बाहिरिनुपर्ने बताएका छन् ।

यसबीच इरानको इस्लामिक रिभोल्युसनरी गार्डले बहराइनमा तैनाथ अमेरिकी नौसेनाको पाँचौं बेडामाथि ड्रोन आक्रमण गरेको दाबी गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार दक्षिणी इरानमा अमेरिकाले गरेको आक्रमणको जवाफस्वरूप उक्त कारबाही गरिएको हो ।

इरानी रिभोल्युसनरी गार्डका अनुसार अमेरिकाले जास्क, सिरिक र केश्म द्वीपका विभिन्न सैन्य तथा रणनीतिक स्थानहरूमा आक्रमण गरेको थियो । ती आक्रमणमा सिरिकको बेमानी क्षेत्रमा रहेको सञ्चार टावरमा क्षति पुगेको तथा दुईवटा पानी ट्याङ्की नष्ट भएका छन् ।

इरानले अमेरिकी सैन्य कारबाही जारी रहे थप कडा जवाफ दिने चेतावनी दिएको छ । दुवै पक्षबीचको तनाव र टकराव अझै समाप्त नभएको इरानी रिभोल्युसनरी गार्डले जनाएको छ । यद्यपि बहराइनस्थित अमेरिकी पाँचौं बेडामाथि ड्रोन आक्रमण भएको दाबीलाई अमेरिकी सेनाले अहिलेसम्म पुष्टि गरेको छैन ।

बहराइनमा तैनाथ अमेरिकी पाँचौं बेडालाई पश्चिम एसियामा अमेरिकाको सबैभन्दा महत्वपूर्ण नौसैनिक तैनाथीमध्ये एक मानिन्छ । यसले फारसी खाडी, अरब सागर तथा होर्मुज जलडमरूमध्यलगायत रणनीतिक समुद्री क्षेत्रको निगरानी गर्दै आएको छ ।

इरानको मेहर समाचार संस्थाका अनुसार दक्षिणी बन्दरगाह सहर बन्दर अब्बास र नजिकै रहेको क्वेश्म आइल्याण्डमा विभिन्न विस्फोटका आवाज सुनिएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार विस्फोटका आवाज सुनिएपछि सुरक्षा निकायहरू उच्च सतर्कतामा राखिएका छन् । यद्यपि ती विस्फोटको कारणबारे तत्काल स्पष्ट जानकारी सार्वजनिक भएको छैन । बन्दर अब्बास र केश्म द्वीप होर्मुज जलडमरूमध्य नजिक अवस्थित छन् । यो जलमार्ग विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानी तथा समुद्री व्यापार मार्गमध्ये एक मानिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै