• २०८३ जेठ २१ बिहीबार

फिर्केखोलाका १६० वटा संरचना हटाइयो

फिर्केखोलाका १६० वटा संरचना हटाइयो

पोखरा । फिर्केखोलाको खोलाघर सफाइ अभियानलाई तीव्रता दिँदै पोखरा महानगरपालिकाले खोलाघरभित्र रहेका संरचनाका भग्नावशेष हटाउने तथा ढल व्यवस्थापनलाई व्यवस्थित बनाउन सम्बन्धित सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ ।

महानगरपालिकाका अनुसार वडा नम्बर १८ को अँधेरीकुनादेखि वडा नम्बर २, ४, ५, ७, ८, १७ हुँदै वडा नम्बर ६ को गाईघाटबाट फेवातालमा मिसिने फिर्केखोलाको खोलाघरभित्र रहेका स्थायी तथा अस्थायी गरी १६० वटा संरचना हटाउने काम सम्पन्न भएको छ। महानगरले उक्त अभियानमा सहयोग पुर्‍याउने सम्पूर्ण नगरवासीप्रति आभार व्यक्त गरेको छ।

आंशिक रूपमा भत्काइएका तर पूर्ण रूपमा हटाउन बाँकी रहेका संरचनाका धनी तथा सम्बन्धित संस्थाले आफूले जनाएको लिखित प्रतिबद्धताअनुसार तोकिएको समयभित्र संरचना हटाउन महानगरपालिकाले आग्रह गरेको छ।

संरचना हटाउने क्रममा निस्किएका भग्नावशेष सफा गर्न उत्खनन उपकरणसहित प्राविधिक टोली र महानगरीय प्रहरी परिचालन गरिएको जनाइएको छ । यस कार्यमा पनि नगरवासीको निरन्तर सहयोग आवश्यक रहेको महानगरले जनाएको छ ।

महानगरपालिकाले केही व्यक्तिले प्रत्यक्ष रूपमा फिर्केखोलामा ढल मिसाइरहेको पाइएको भन्दै १० दिनभित्र मापदण्डबाहिर सुरक्षित ढल सङ्कलन ट्याङ्की तथा सोख्ता निर्माण गरी खोलामा ढल बगाउने कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ । अन्यथा कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ ।

यस्तै, भवन तथा पूर्वाधार निर्माण मापदण्ड २०८० अनुसार फिर्केखोलाको मापदण्ड १० मिटरबाट घटाएर ६ मिटर कायम गरिएको जानकारी दिँदै महानगरपालिकाले उक्त ६ मिटर क्षेत्रभित्र कुनै पनि संरचना निर्माण नगर्न आग्रह गरेको छ ।

महानगरपालिकाले फिर्केखोलाको मापदण्डभित्र निर्माण भएका संरचनाको अवस्था तथा फिर्केखोला करिडोर निर्माण परियोजनाबारे थप जानकारी छिट्टै सार्वजनिक गरिने जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै