Skip This
  • २०८३ जेठ २० बुधबार

विश्वकप अघि लामिन यमलको इन्जुरीले चिन्तामा स्पेन

विश्वकप अघि लामिन यमलको इन्जुरीले चिन्तामा स्पेन

काठमाडौँ । स्पेनका युवा स्टार लामिन यमलको फिटनेसलाई लिएर विश्वकप अघि ठूलो अनिश्चितता देखिएको छ । विश्व फुटबलमा सबैभन्दा चम्किला प्रतिभामध्ये एक मानिने यमल चोटका कारण प्रतियोगिताबाट बाहिरिन सक्ने खतरा बढेको छ ।

१८ वर्षे यमलले युरो २०२४ मा शानदार प्रदर्शन गर्दै सबैको ध्यान तानेका थिए । त्यसपछि बार्सिलोनाका लागि पनि उनी लगातार प्रभावशाली बनेका थिए । तर पछिल्लो सिजनको अन्त्यतिर उनलाई पछाडिको तिघ्रा मांसपेशीमा चोट लागेपछि अवस्था जटिल बनेको हो ।

अप्रिल २२ मा सेल्टा भिगोविरुद्धको खेलमा पेनाल्टीबाट निर्णायक गोल गरेपछि उनी मैदानमै ढलेका थिए । त्यसपछि उनी अझै मैदान फर्किन सकेका छैनन् । प्रारम्भमा चोट सामान्य देखिए पनि पछि यो गम्भीर भएको पुष्टि भएको थियो । चिकित्सकहरूले करिब दुई महिनासम्म आराम आवश्यक पर्न सक्ने बताएका थिए ।

यसैबीच बार्सिलोना र स्पेनिस फुटबल संघबीच उनको उपचार र तयारीलाई लिएर निरन्तर समन्वय भइरहेको छ । बार्सिलोनाले भने यमल विश्वकपका लागि उपलब्ध हुने विश्वास व्यक्त गरेको छ । स्पेनका मुख्य प्रशिक्षक लुइस दे ला फुएन्तेले उनलाई २६ सदस्यीय टोलीमा समावेश गरेका छन् । तर उनी सुरुदेखि नै खेल्न सक्ने अवस्थामा हुने कि नहुने भन्ने अझै स्पष्ट छैन । रिपोर्ट अनुसार यमलले समूह चरणका पहिलो दुई खेल गुमाउन सक्ने सम्भावना छ । स्पेनले समूह चरणमा केप भर्डे र साउदी अरेबियासँग खेल्नेछ भने उरुग्वेसँग अन्तिम खेल हुनेछ ।

प्रशिक्षक दे ला फुएन्तेले भने टोलीमा गहिरो विकल्प भएकाले तत्काल ठूलो समस्या नहुने बताएका छन् । उनले यमल पूर्ण रूपमा फिट नभए पनि पछि महत्वपूर्ण समयमा मैदानमा उतार्न सकिने संकेत दिएका छन् ।

स्पेनसँग यमलको अनुपस्थितिमा पनि आक्रमणमा विकल्प छन् । येरमी पिनो र भिक्टर मुनोज जस्ता खेलाडीले उनको स्थान सम्हाल्न सक्ने सम्भावना छ । यस्तै निको विलियम्स पनि चोटबाट फर्किने तयारीमा छन् । तर स्पेनका लागि मुख्य चिन्ता नकआउट चरणमा यमल पूर्ण रूपमा फिट नभएमा के गर्ने भन्ने हो । किनभने युरोपेली विजेता स्पेनले अन्तिम ३२ मा अस्ट्रिया वा अल्जेरिया जस्ता बलिया टोलीसँग सामना गर्नुपर्ने सम्भावना छ ।

यसअघि यमलले युरो २०२४ मा अन्तिम चरणका खेलहरूमा निर्णायक भूमिका खेलेका थिए । त्यसैले उनलाई स्पेनको भविष्यको प्रमुख खेलाडीका रूपमा हेरिएको छ ।

विश्वकप नजिकिँदै गर्दा यमलको फिटनेसलाई लिएर सबैको ध्यान केन्द्रित भएको छ । यदि उनी समयमै फर्किन सके भने स्पेनका लागि उपाधि यात्रामा ठूलो शक्ति बन्न सक्छन्, तर ढिलाइ भएमा प्रतियोगिताको चमक नै प्रभावित हुन सक्ने विश्लेषण गरिएको छ ।

विश्वकपमा समुह एचमा रहेको स्पेनले पहिलो खेल जुन १५ मा केप भेर्ड़ेसँग खेल्ने छ भने दोस्रो खेल जुन २१ मा साउदी अरेबियासँग र तेस्रो खेल जुन २६ मा उरुग्वेसँग खेल्ने तालिका छ । त्यसअघि स्पेनले जुन ४ मा आफ्नै मैदान आ कोरुनामा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने जुन ८ मा मेक्सिकोको पुएब्लामा पेरुसँग अर्को अभ्यास खेल खेल्ने तालिका छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै