काठमाडौँ । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका लागि आगामी फिफा फुटबल विश्वकप केवल अर्को प्रतियोगिता होइन, बरु आफ्नो महान् फुटबल यात्रालाई पूर्णता दिने अन्तिम अवसर हो । सन् २०२२ को विश्वकपमा मोरक्कोसँगको क्वार्टरफाइनल हारपछि आँसु झारेका रोनाल्डोले त्यसबेला पोर्चुगलका लागि विश्वकप जित्नु आफ्नो करियरकै सबैभन्दा ठूलो सपना रहेको बताएका थिए ।
सन् २०२६ को विश्वकपसम्म पुग्दा रोनाल्डो ४१ वर्षका छन् । यो उनको छैटौँ विश्वकप हुनेछ । पाँच पटकका बालोन डिओर विजेता रोनाल्डो विश्व फुटबलका महानतम खेलाडीमध्ये एक मानिए पनि विश्वकपमा उनको उपलब्धि अपेक्षाअनुसार छैन । उनले अहिलेसम्म केवल एकपटक सेमिफाइनल खेलेका छन् भने नकआउट चरणमा एक गोल पनि गर्न सकेका छैनन् ।
कतार विश्वकपपछि पोर्चुगलले नयाँ प्रशिक्षकका रूपमा रोबेर्टो मार्टिनेजलाई नियुक्त गर्यो । धेरैले युवा टोली निर्माणको अपेक्षा गरे पनि मार्टिनेजले रोनाल्डोलाई कप्तानकै रूपमा निरन्तरता दिए । युरोपेली च्याम्पियनसिप छनोटमा उनले धेरै गोल गरे पनि मुख्य प्रतियोगितामा गोल गर्न सकेनन् । त्यसक्रममा उनको प्रदर्शन र टोलीमा स्थानबारे व्यापक बहस भएको थियो ।
यद्यपि, पछिल्लो नेशनल लिगमा रोनाल्डोले निर्णायक भूमिका खेले । उनले जर्मनीविरुद्धको सेमिफाइनल र स्पेनविरुद्धको फाइनलमा गोल गर्दै पोर्चुगललाई उपाधि दिलाउन मद्दत गरे । त्यसले उनको अनुभव र गोल गर्ने क्षमतामाथिको विश्वास फेरि बलियो बनायो ।
तर उमेरसँगै उनको गतिशीलता घटेको छ । आधुनिक फुटबलमा आक्रमणकर्ताबाट अपेक्षा गरिने दबाब सिर्जना गर्ने शैलीमा उनी पहिलेजस्तो प्रभावकारी छैनन् । त्यसैले पोर्चुगलले बढी चलायमान फरवार्डबाट लाभ लिन सक्ने तर्क पनि उठिरहेको छ ।
तर रोनाल्डोको पक्षमा एउटा ठूलो आधार उनको अनुभव, नेतृत्व र जित्ने अदम्य चाहना रहेको छ । पोर्चुगलसँग अहिले ब्रुनो फर्नानडेज, भितिन्हा, जोआओ नेभेस, रुबेन डियास र नुनो मेन्डेस जस्ता प्रतिभाशाली खेलाडी छन् । धेरै विश्लेषकले यो पोर्चुगलको इतिहासकै सबैभन्दा बलियो टोली मान्छन् ।
त्यसैले सन् २०२६ को विश्वकप रोनाल्डोका लागि व्यक्तिगत विरासतको परीक्षा मात्र होइन, पोर्चुगलको विश्व च्याम्पियन बन्ने सम्भावनासँग पनि जोडिएको छ । विश्वकप जित्ने उनको सपना पूरा हुन्छ कि हुँदैन, त्यो भविष्यले बताउनेछ । तर यति निश्चित छ कि फुटबलको सबैभन्दा ठूलो मञ्चमा यो रोनाल्डोको अन्तिम यात्रा हुनेछ ।
पोर्चुगलको टिम:
गोलकिपर: डियोगो कोस्टा, जोसे सा, रुई सिल्भा र रिकार्डो भेल्हो ।
डिफेन्डर: डियोगो डालोट, माथेउस नुनेस, नेल्सन सेमेडो, जाओ क्यान्सेलो, नुनो मेन्डेस, गोन्सालो इनासियो, रेनाटो भेइगा, रुबेन डायस र टोमास अराउजो ।
मिडफिल्डर: रुबेन नेभेस, सामुएल कोस्टा, जाओ नेभेस, भिटिन्हा, ब्रुनो फर्नान्डेस र बेर्नार्डो सिल्भा ।
फरवार्ड: जाओ फेलिक्स, ट्रिन्काओ, फ्रान्सिस्को कोन्सेइसाओ, पेड्रो नेटो, राफाएल लियाओ, गोन्सालो गुएडेस, गोन्सालो रामोस र क्रिस्टियानो रोनाल्डो ।
विश्कपमा पोर्चुगल समुह के मा रहेको छ । यस समुहमा पोर्चुगलसहित डिआर कंगो, उज्बेकिस्तान र कोलोम्बिया रहेका छन् । पोर्चुगलले आफ्नो पहिलो खेल जुन १७ मा डिआर कंगोविरुद्ध खेल्ने छ भने दोस्रो खेल जुन २३ मा उज्बेकिस्तानसँग र तेस्रो खेल जुन २७ मा कोलोम्बियासँग खेल्ने तालिका छ ।









