काठमाडौँ । नेपालमा विदेशी पर्यटकको अगामन मे महिनामा १९.०७ प्रतिशतले बढेको । गत बर्षको मे महिनामा भन्दा यस बर्षको मेमा नेपाल आउने विदेशी पर्यटकको संख्या १९ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।
यस बर्षको मेमा कुल एक लाख २ हजार ६२६ विदेशी पर्यटक आएका छन् भने अघिल्लो बर्षको मेमा ८६ हजार २१६ पर्यटक नेपाल आएका थिए । कोभिड शुरु हुनु अघि २०१९ को मेमा यो संख्या ७८ हजार ३२९ रहेको थियो ।
मे महिनामा नेपाल आउने विदेशी पर्यटकमा सबै भन्दा बढी भारतबाट नेपाल आएका छन् । भारतबाट मेमा ४० हजार ७८२ जना अर्थात ३९.७४ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यस्तै मेमा चीनबाट दोस्रो धेरै ११ हजार ५१४ पर्यटक नेपाल आएको बोर्डले जानकारी दिएको छ ।
त्यसैगरी अमेरिकाबाट ९ हजार १, बंगलादेशबाट ५ हजार २९८ जना, बेलायतबाट ३ हजार ३७५ जना, अस्ट्रेलियाबाट २ हजार ८७० जना, मलेसियाबाट २ हजार ८५७ जना र जापानबाट १ हजार ७५६ पर्यटक मे महिनामा नेपाल आएका छन् ।
पर्यटन बोर्डका अनुसार सार्क देशबाट कुल ४८ हजार ४६१, एशियाका अन्य देशबाट २० हजार ४६२ जना, युरोपबाट १३ हजार ४४० जना, अमेरिका क्षेत्रबाट १० हजार ६१८ जना, ओसिनियाबाट ३ हजार १८८ जना मे महिनामा नेपाल आएका छन् ।









