• २०८३ जेठ २० बुधबार

अमेरिकाको तेल भण्डारण दुई बर्षकै तल्लो स्तरमा

अमेरिकाको तेल भण्डारण दुई बर्षकै तल्लो स्तरमा

काठमाडौँ । अमेरिका-इरान युद्धको प्रभाव तेल बजारमा स्पष्ट रूपमा देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले हालसम्म अमेरिकाको आपत्कालीन तेल भण्डारबाट करिब पाँच करोड ८० लाख ब्यारेल कच्चा तेल बजारमा जारी गरिसकेको छ । यो कुल रणनीतिक तेल भण्डारको करिब १४ प्रतिशत हो ।

इरानसँगको युद्धका कारण उत्पन्न आपूर्ति समस्यालाई कम गर्ने उद्देश्यले कच्चा तेल बजारमा पठाइएको अमेरिकी प्रशासनले जनाएको छ ।

अमेरिकासँग लुइसियाना र टेक्सास राज्यका भूमिगत भण्डारणस्थलमा अधिकतम ७१ करोड ४० लाख ब्यारेल तेल राख्ने क्षमता छ । सन् २०२६ मार्चमा संकट सुरु हुनुअघि त्यहाँ करिब ४१ करोड ५० लाख ब्यारेल तेल मौज्दात थियो । तर हाल यो घटेर ३५ करोड ७१ लाख ब्यारेलमा झरेको छ । यो सन् २०२४ जनवरीयताको सबैभन्दा न्यून स्तर हो ।

राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सम्बन्धित भएकाले अमेरिकाले आफ्नो रणनीतिक तेल भण्डार लामो समयसम्म खाली राख्न सक्दैन । संकट समाप्त भएपछि ट्रम्प प्रशासनले बजारबाट पुनः महँगो मूल्यमा तेल खरिद गरेर भण्डार भराउनुपर्ने अवस्था आउनेछ, जसले अमेरिकी सरकारी कोषमाथि ठूलो आर्थिक भार पर्ने अनुमान गरिएको छ ।

तेल बजारमा पठाउने निर्णय अमेरिकाको मात्रै नभई अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका ३२ सदस्य राष्ट्रहरूको संयुक्त निर्णय रहेको बताइएको छ । ती देशहरूले सामूहिक रूपमा ४० करोड ब्यारेल तेल बजारमा उपलब्ध गराउने निर्णय गरेका छन् । यो इतिहासकै सबैभन्दा ठूलो आपत्कालीन तेल आपूर्ति कार्यक्रम मानिएको छ ।

अमेरिकाले जारी गरिरहेको तेल पनि यही अन्तर्राष्ट्रिय सम्झौताको एक हिस्सा हो । सामान्यतया यस्ता ठूला युद्ध र आपूर्ति अवरोधका बेला कच्चा तेलको मूल्य अत्यधिक बढ्ने गर्छ । तर यो कदमका कारण मूल्य नियन्त्रणबाहिर जानबाट रोकिएको विश्लेषण गरिएको छ ।

यद्यपि, विज्ञहरूले यसलाई केवल अस्थायी राहतको उपायका रूपमा लिएका छन् । यदि जुन महिनाको अन्त्यसम्म प्रभावित समुद्री मार्ग पुनः सञ्चालनमा आउन सकेन भने कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न सक्ने चेतावनी उनीहरूले दिएका छन्।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै