काठमाडौँ । नेदरल्याण्ड्सले विश्वकप फुटबलका लागि २६ सदस्यीय टोली घोषणा गरेको छ । टोलीको कप्तानी अनुभवी रक्षक भर्जिल भान डाइकले गर्ने भएका छन् ।
मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले पछिल्लो समय चोटको समस्यामा रहेका केही महत्वपूर्ण खेलाडीलाई पनि टोलीमा समावेश गरेका छन् । ह्यामस्ट्रिङ समस्याबाट पुनरागमन गरेका मेम्फिस डिपे टोलीमा अटाएका छन् भने फिटनेसबारे आशंका रहे पनि जुरियन टिम्बरले पनि स्थान बनाएका छन् ।
यद्यपि अप्रिलमा घुँडाको गम्भीर चोट बोकेका जाभी सिमोन्स टोलीमा परेनन् । त्यस्तै लिभरपुलका डिफेन्डर जेरेमी फ्रिम्पोङलाई टोलीबाहिर राखिएको निर्णयलाई आश्चर्यका रूपमा हेरिएको छ । नेदरल्याण्ड्सको टोलीमा फ्रेन्की डे योङ, कोडी गाक्पो, रायन ग्राभेनबेर्ख र टिजानी राइन्डर्सजस्ता स्टार खेलाडी समावेश छन् ।
नेदरल्याण्ड्सले समूह ‘एफ’ अन्तर्गत जुन १४ मा जापानविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । त्यसपछि टोलीले स्विडेन र ट्युनिसियासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।
नेदरल्याण्ड्सको टोली :
गोलकिपर: मार्क फ्लेकेन, रोबिन रोफ्स र बार्ट भेर्ब्रुगेन ।
डिफेन्डर: नाथन आके, डेन्जेल डुम्फ्रिस, जोरेल हातो, जुरियन टिम्बर, मिकी भान डे भेन, भर्जिल भान डाइक, जान पाउल भान हेके र माट्स विफर ।
मिडफिल्डर: फ्रेन्की डे योङ, मार्टेन डे रुन, रायन ग्राभेनबेर्ख, जस्टिन क्लुइभर्ट, ट्युन कुपमाइनर्स, टिजानी राइन्डर्स, गुस टिल र क्विन्टेन टिम्बर ।
फरवार्ड: ब्रायन ब्रोबे, मेम्फिस डिपे, कोडी गाक्पो, नोआ ल्याङ, डोनियल मालेन, क्राइसेन्सियो समरभिल र वाउट वेघोर्स्ट ।









