काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई बोनम्यारो समस्या देखिएको छ ।
न्यायाधीश श्रेष्ठले आफु बोनम्यारोबाट पिडित भएको र हाल भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इष्टिच्युट एण्ड रिसर्च सेन्टरमा उपचार भइरहेको जानकारी दिएका छन् । श्रेष्ठले बुधबार एक विज्ञप्ति जारी गरेर आफ्नो उपचारबारे जानकारी गराउदै उपचारको नाममा भइरहेको आर्थिक संकलन रोक्न आग्रह गरेका छन् ।
न्यायपालिका अधिकृत समाजले श्रेष्ठको उपचारका लागि आर्थिक संकलन अभियान शुरु गरेपछि न्यायाधीश श्रेष्ठले सो अभियान बन्द गर्न आग्रह गरेका हुन् ।
उनले भनेका छन्- 'बोनम्यारो समस्याका कारण म अहिले भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्यूट एन्ड रिसर्च अस्पतालमा उपचार गराइरहेको छु । मेरो उपचारमा चासो, चिन्ता, स्वास्थ्यलाभ र सदभाव व्यक्त गर्नुहुने सबैप्रति म अनुगृहित छु । मेरा शुभेच्छुक एवं शुभचिन्तकहरुले मेरो उपचारका सन्दर्भमा स्वस्फूर्त रुपमा सहयोग जुटाउने हेतुले रकम सङ्कलन गर्न थाल्नु भएको खबर पनि पाएको छु । न्यायसेवा अधिकृत समाजले न्यायपालिकामा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई स्वेच्छिक रुपमा यथाशक्य आर्थिक सहयोग गर्न आह्वान गरेको पनि थाहा पाएँ । यो आर्थिक सङ्कलनको कार्य स्थगित गरिदिनु हुन सबैमा मेरो विनम्र अनुरोध छ । आशा छ, तपाईंहरुले मेरो अनुरोधलाई स्वीकार गरी रकम सङ्कलनको कार्य स्थगित गर्नु हुनेछ ।'









