• २०८३ जेठ १३ बुधबार

पोखराको बसपार्क क्षेत्रका सुकुम्बासीको पहिचान र व्यवस्थापन गर्न छुट्टा छुट्टै समिति गठन

पोखराको बसपार्क क्षेत्रका सुकुम्बासीको पहिचान र व्यवस्थापन गर्न छुट्टा छुट्टै समिति गठन

पोखरा । पोखरा महानगरपालिकाले वडा नम्बर ९ बसपार्क क्षेत्रमा बसोबास गर्ने वास्तविक सुकुम्वासीहरूको पहिचान गरी १० दिन भित्र प्रतिवेदन पेस गर्ने गरी महानगरपालिकाको प्रशासन महाशाखाका प्रमुख कृष्ण प्रसाद तिवारीको संयोजकत्वमा सुकुम्वासी समस्या सहजीकरण समिति गठन गरेको छ । 

समितिको सदस्यमा कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकीका अधिकृत, जिल्ला प्रशासन कार्यालय कास्कीका अधिकृत, साबिक मालपोत कार्यालय कास्कीका अधिकृत, साबिक नापी कार्यालय कास्कीका अधिकृत, जिल्ला प्रहरी कार्यालय कास्कीका अधिकृत प्रतिनिधि तथा वडा नं. ९ का वडा सचिव सदस्य सचिव रहेका छन् ।

समितिलाई महानगरमा पेस हुन आएका ५७२ जना सुकुम्वासीहरूको विषयमा आवश्यक अध्ययन तथा छानबिन गरी १० दिन प्रति प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको नगर प्रमुख धनराज आचार्यले जानकारी दिएका छन् । उनका अनुसार महानगरपालिका पोखराको पृथ्वीचोकमा अधिग्रहण गरिएको स्थानमा व्यवस्थित बसपार्क निर्माणको तयारीमा रहेको छ ।

त्यस्तै महानगरले वडा नम्बर ९ पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्वासी तथा भूमिहीन सुकुम्वासी परिवारहरूको स्थानान्तरणका लागि उपयुक्त जग्गा पहिचान तथा सिफारिस गर्ने गरी जग्गा व्यवस्थापन (खोजी) समिति गठन गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १७ की वडाध्यक्ष राधिका कुमारी शाही योगीको संयोजकत्वमा गठित समितिको सदस्यमा  वडा अध्यक्षहरू दीपेन्द्र मर्सानी, तोरण बानियाँ, बोधराज कार्की, वडा नं.२५ की कार्यवाहक अध्यक्ष धना पोख्रेल, नापी शाखा प्रमुख सीता कार्की र सदस्य सचिवमा महानगरका प्रशासकीय अधिकृत टिकाराम बजगाईँ रहेका छन् । समितिलाई १० दिनको कार्यादेश दिइएको महानगरले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै