• २०८३ जेठ १० आइतबार

युरोपमा गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप

युरोपमा गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप

काठमाडौँ । प्रविधि क्षेत्रका ठूला कम्पनी गुगल, मेटा र टिकटकमाथि युरोपेली सङ्घका उपभोक्ता समूहहरूले गम्भीर आरोप लगाएका छन् । ती कम्पनीहरूले आफ्ना प्रयोगकर्तालाई आर्थिक ठगीबाट जोगाउन असफल भएको भन्दै औपचारिक उजुरी दर्ता गरिएको हो । आरोप पुष्टि भए ती कम्पनीहरूले ठूलो जरिवाना तिर्नुपर्ने अवस्था आउन सक्ने बताइएको छ ।

यो विवादको केन्द्रमा युरोपेली सङ्घको ‘डिजिटल सेवा ऐन’ रहेको छ । युरोपेली उपभोक्ता समूह ‘बिईयूसी’ले युरोपेली आयोगसमक्ष दिएको उजुरीमा गुगल, मेटा र टिकटकलगायतका मञ्चहरूले आफ्ना प्रयोगकर्तालाई नक्कली तथा ठगीपूर्ण विज्ञापनबाट सुरक्षित राख्न नसकेको उल्लेख गरिएको छ ।

डिजिटल सेवा ऐनअनुसार ठूला प्रविधि कम्पनीहरूले आफ्ना मञ्चमा रहेका गैरकानुनी वा हानिकारक सामग्री पहिचान गरी तत्काल हटाउनुपर्ने कानुनी दायित्व हुन्छ । तर उपभोक्ता समूहले ती कम्पनीहरूले यसमा गम्भीर लापरवाही गरेको आरोप लगाएका छन् ।

‘बिईयूसी’का महानिर्देशक अगस्टिन रेयनाका अनुसार समस्या केवल नक्कली विज्ञापनमा सीमित छैन । कम्पनीहरूले उजुरी आएपछि पनि प्रभावकारी कदम नचालेको उनको भनाइ छ । उनले चेतावनी दिँदै यदि तत्काल कडा कदम नचालिए ठगी गर्ने समूहहरूले हरेक दिन लाखौँ युरोपेली उपभोक्तासम्म पहुँच बढाइरहने बताएका छन् ।

उपभोक्ता समूहहरूले सार्वजनिक गरेको तथ्याङ्कले पनि चिन्ता बढाएको छ । गत वर्ष डिसेम्बरदेखि यस वर्ष मार्चसम्म करिब ९ सय शंकास्पद तथा कानुनविपरीत विज्ञापन फेला परेको दाबी गरिएको छ । तर तीमध्ये केवल २७ प्रतिशत विज्ञापन मात्र हटाइएको बताइएको छ ।

त्यस्तै कुल उजुरीमध्ये ५२ प्रतिशतलाई सीधै अस्वीकार गरिएको वा बेवास्ता गरिएको उपभोक्ता समूहको दाबी छ । यसले सामाजिक सञ्जाल मञ्चहरूको सुरक्षा प्रणाली र उजुरी व्यवस्थापन कमजोर रहेको देखाएको उनीहरूको भनाइ छ ।

आरोपपछि गुगल, मेटा र टिकटकलगायत कम्पनीहरूले भने आफ्नो बचाउ गरेका छन् । उनीहरूले प्रयोगकर्ताको सुरक्षाका लागि निरन्तर काम भइरहेको दाबी गरेका छन् । गुगलका प्रवक्ताले कम्पनीको विज्ञापन नीति निकै कडा रहेको र ९९ प्रतिशतभन्दा बढी नक्कली विज्ञापन प्रयोगकर्तासम्म पुग्नुअघि नै रोक्ने गरिएको बताएका छन् । साथै ठगी गर्ने समूहभन्दा एक कदम अगाडि रहन सुरक्षा प्रणाली नियमित अद्यावधिक गरिरहेको जनाइएको छ ।

मेटाले पनि गत वर्ष मात्रै १५ करोड ९० लाखभन्दा बढी ठगीसम्बन्धी विज्ञापन हटाइएको जनाएको छ । तीमध्ये ९२ प्रतिशत विज्ञापन कसैले उजुरी गर्नुअघि नै कृत्रिम बुद्धिमत्ता तथा अन्य उपकरणमार्फत पहिचान गरिएको कम्पनीको दाबी छ । टिकटकले पनि नियम उल्लङ्घन गर्नेविरुद्ध कडा कारबाही भइरहेको जनाएको छ । तर अनलाइन ठगी अहिले सम्पूर्ण प्रविधि उद्योगकै साझा चुनौती बनेको उसले स्वीकार गरेको छ ।

अब यस विषयमा नियामक निकायहरूको निर्णयलाई चासोका साथ हेरिएको छ । यदि अनुसन्धानमा डिजिटल सेवा ऐन उल्लङ्घन भएको पुष्टि भए ती कम्पनीहरूले वार्षिक विश्वव्यापी आम्दानीको ६ प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने हुन सक्छ ।

यो घटनाले सामाजिक सञ्जालको बढ्दो नकारात्मक प्रभावप्रति विश्वभर चिन्ता बढिरहेको संकेत गरेको छ । विशेषगरी बालबालिका तथा संवेदनशील प्रयोगकर्तालाई अनलाइन ठगी र आर्थिक अपराधबाट जोगाउन ठूला प्रविधि कम्पनीमाथि नैतिक र कानुनी दबाब बढ्दै गएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै