काठमाडौँ । जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालय, पेरे माथाचौरमा कार्यरत एक शिक्षकले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएको आरोपमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धान अनुसार शिक्षक भोजराज न्यौपानेले माध्यमिक तह गणित विषयको राहत शिक्षक पदमा नियुक्ति पाउनका लागि त्रिभुवन विश्वविद्यालयबाट जारी भएको भनिएको प्रविणता प्रमाणपत्र तह र व्यवसाय अध्ययनतर्फको स्नातक तहको शैक्षिक प्रमाणपत्र नक्कली रूपमा पेश गरेको पाइएको छ ।
अनुसन्धानबाट ती प्रमाणपत्रहरू झुट्टा रहेको पुष्टि भएपछि उनले सोही आधारमा शिक्षकको पद, सेवा सुविधा र लाभसमेत लिएको देखिएको आयोगले जनाएको छ ।
यस आधारमा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही दफाअनुसार सजायको मागदाबी सहित विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगले सरकारी सेवामा नक्कली शैक्षिक योग्यताको आधारमा प्रवेश गर्ने र लाभ लिने यस्ता घटनाविरुद्ध कडा कानुनी कारबाही जारी रहने स्पष्ट पारेको छ ।









