काठमाडौँ । मध्य अमेरिकी देश होन्डुरसमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घटनामा १० मजदुर र ६ प्रहरीको ज्यान गएको हो ।
पहिलो आक्रमण उत्तरी होन्डुरसको ट्रुजिलो नगरस्थित एक खेतीयोग्य क्षेत्रमा भएको थियो । राष्ट्रिय प्रहरीका प्रवक्ता एडगार्डो बाराहोनाका अनुसार बन्दुकधारी समूहले त्यहाँ काम गरिरहेका मजदुरमाथि अन्धाधुन्ध गोली चलाएको थियो । घटनामा कम्तीमा १० जनाको मृत्यु भएको बताइएको छ । उक्त क्षेत्र लामो समयदेखि जमिन र खेतीसम्बन्धी विवादका कारण तनावग्रस्त रहँदै आएको बताइएको छ ।
दोस्रो आक्रमण ग्वाटेमाला सीमाना नजिक पर्ने कोर्टेस क्षेत्रको ओमोआ नगरमा भएको थियो । त्यहाँ आक्रमणकारीले प्रहरी टोलीमाथि गोली चलाउँदा ६ प्रहरीको मृत्यु भएको हो । ज्यान गुमाउनेमध्ये एक वरिष्ठ प्रहरी अधिकारी पनि रहेका छन् ।
प्रहरीका अनुसार ती अधिकारीहरू गिरोहविरुद्धको अभियानमा खटिएका थिए । उनीहरू राजधानी तेगुसिगाल्पाबाट ओमोआतर्फ जाँदै गर्दा आक्रमणमा परेका हुन् ।
होन्डुरसको सुरक्षा मन्त्रालयले दुवै घटनाको अनुसन्धानका लागि फरेन्सिक विज्ञ र सरकारी अभियोजकसहितको टोली गठन गरिने जनाएको छ । प्रभावित क्षेत्रमा थप प्रहरी र सेना परिचालन गरिने पनि मन्त्रालयले जनाएको छ ।









