काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गतका आठ समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, पूर्वाधार विकास समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ ।
दिउसो ३ बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिहरूबाट आब २०८३/८४ को बजेटमा समाबेश गर्नुपर्ने नीतिगत विषयहरू सहितको सुझाव पेश हुने कार्यसूची रहेको छ । त्यस्तै दिउसो १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपालका कारागार तथा प्रहरी हिरासतमा रहेका कैदीबन्दी एवम थुनुवाहरुको मानव अधिकार सम्बन्धमा गृह मन्त्रालयसँग छलफलको कार्यसूची रहेको छ ।
त्यसैगरी बिहान ९ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा मध्यपूर्वमा जारी युद्धका कारण सार्बजनिक पूर्वाधार निर्माणमा परेको समस्या बारे छलफल हुने कार्यसूची रहेको छ । त्यस्तै दिउसो १ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपाल सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका सम्बन्धमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रीसँग छलफलको कार्यसूची रहेको छ ।
त्यसैगरी दिउसो २ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बनेपास्थित विस्थापित सुकुम्बासी होल्डिङ सेन्टरको अनुगमनबाट देखिएका विषयहरुका सम्बन्धमा पूर्वाधार विकास मन्त्रालयसँग छलफल, विपद् व्यवस्थापन सम्बन्धमा सरकारको पूर्व तयारीको विषयमा छलफलको कार्यसूची रहेको छ । त्यस्तै दिउसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सूचना तथा सञ्चार मन्त्रालयको विद्यमान अवस्था तथा भावी कार्ययोजना बारे छलफलको कार्यसूची रहेको छ ।
त्यसैगरी दिउसो साढे २ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा महालेखापरीक्षकज्यूसँग बेरुजु फर्स्यौट सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।









