• २०८३ जेठ ७ बिहीबार

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्बजनिक

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्बजनिक

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि सुशासन, पूर्वाधार, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। 

प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिँदै सार्वजनिक सेवामा प्रविधिको प्रयोग बढाउने जनाएको छ। युवालाई सरकारी सेवामा आकर्षित गर्न ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सञ्चालन गरिने भएको छ ।

पूर्वाधारतर्फ सडक विस्तार, तमोर–चिसाङ डाइभर्सन, तमोर–लेउती सुरुङमार्ग र चतरा–चौरीखर्क रेलमार्गको सम्भाव्यता अध्ययन अघि बढाइने भएको छ। ‘एक घर एक धारा’ कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

सरकारले २०८३ साउनदेखि २०८५ असारसम्म ‘कोशी प्रदेश भ्रमण वर्ष’ मनाउने घोषणा गरेको छ। पाथीभरा, हलेसी, कन्याम, श्रीअन्तुलगायत पर्यटकीय क्षेत्रको प्रवर्द्धन गरिनेछ ।

कृषिमा चिया, अलैँची, अदुवा, दूध तथा तरकारी उत्पादन र निर्यातमा जोड दिइएको छ भने शिक्षातर्फ प्राविधिक शिक्षा र ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

स्वास्थ्य क्षेत्रमा प्रदेश अस्पताललाई स्तरोन्नति गरी विशेषज्ञ सेवा विस्तार गरिने तथा मानसिक स्वास्थ्य र लागुपदार्थ दुर्व्यसन नियन्त्रणका कार्यक्रम सञ्चालन गरिने सरकारले जनाएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै