काठमाडौँ । इरानसँगको युद्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति असन्तुष्टि बढ्दै गएको एक सर्वेक्षणले देखाएको छ । न्युयोर्क टाइम्स र सिएना कलेजले गरेको सर्वेक्षणअनुसार ६३ प्रतिशत अमेरिकी नागरिक ट्रम्पसँग असन्तुष्ट रहेका छन् ।
सर्वेक्षणअनुसार ट्रम्पको लोकप्रियता दर घटेर ३७ प्रतिशतमा पुगेको छ, जुन उनको दोस्रो कार्यकालकै सबैभन्दा कम मानिएको छ ।
रिपोर्टअनुसार करिब दुईतिहाइ अमेरिकीले इरानविरुद्ध युद्ध सुरु गर्ने ट्रम्पको निर्णय गलत भएको बताएका छन् । धेरैजसो नागरिकले युद्धबाट प्राप्त फाइदाभन्दा त्यसको मूल्य धेरै महँगो परेको धारणा राखेका छन् ।
सर्वेक्षणमा सहभागी ६४ प्रतिशतले ट्रम्प प्रशासनले अर्थतन्त्र राम्रोसँग सम्हाल्न नसकेको बताएका छन् । बढ्दो महँगीका कारण जनआक्रोश बढ्दै गएको उल्लेख गरिएको छ । फेब्रुअरीयता अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा बढेको जनाइएको छ ।
यसको प्रभाव आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा पर्ने अनुमान गरिएको छ । रिपब्लिकन पार्टीले हार व्यहोर्न सक्ने जोखिम बढेको विश्लेषण गरिएको छ । स्वतन्त्र मतदाता पनि ट्रम्पबाट टाढिँदै गएको सर्वेक्षणले देखाएको छ । अहिले नै निर्वाचन भए डेमोक्रेटिक उम्मेदवारले रिपब्लिकनभन्दा १० प्रतिशतसम्म अग्रता लिन सक्ने अनुमान गरिएको छ ।









