काठमाडौँ । अमेरिका र इरानबीच शान्ति प्रक्रिया अगाडि बढाउने विषयमा अमेरिकाले पाँच ठूला सर्त राखेको दाबी गरिएको छ । इरानको सरकारी समाचार संस्था फार्सले सार्वजनिक गरेको रिपोर्टमा यस्तो उल्लेख गरिएको हो ।
रिपोर्टअनुसार अमेरिकाले इरानमाथि गरिएको बमबारीबाट भएको क्षतिको कुनै क्षतिपूर्ति नदिने स्पष्ट पारेको छ । साथै अमेरिकाले इरानसँग रहेको ४०० किलोग्राम समृद्ध युरेनियम आफूलाई बुझाउन माग गरेको बताइएको छ ।
अमेरिकाले इरानमा एउटा मात्र आणविक केन्द्र सञ्चालनमा राख्नुपर्ने सर्त पनि अघि सारेको रिपोर्टमा उल्लेख छ । त्यसैगरी इरानका विदेशमा रोक्का गरिएका सम्पत्तिमध्ये २५ प्रतिशतभन्दा बढी रकम फुकुवा गर्न अमेरिका तयार नरहेको जनाइएको छ ।
रिपोर्टमा वासिङ्टनले लेबनानसहित सबै मोर्चामा जारी द्वन्द्व अन्त्य गर्ने विषय वार्तामार्फत समाधान गर्न चाहेको उल्लेख गरिएको छ । यद्यपि यी सर्तबारे अमेरिका वा इरान दुवै पक्षबाट आधिकारिक पुष्टि भने भएको छैन ।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले छिट्टै सम्झौता नगरे इरानसँग केही पनि बाँकी नरहने बताएका हुन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्- 'इरानका लागि समय तीव्र गतिमा बितिरहेको छ । उनीहरूले धेरै चाँडै निर्णय लिनुपर्छ, नत्र उनीहरूसँग केही पनि बाँकी रहने छैन । समय अत्यन्त महत्वपूर्ण छ ।'
अमेरिका र इरानबीच आणविक कार्यक्रम, प्रतिबन्ध तथा युद्ध क्षतिपूर्तिसम्बन्धी वार्ता पुनः अवरुद्ध भएको अवस्थामा ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो ।
इरानले भने जवाफमा इरानले क्षेत्रीय सैन्य गतिविधि रोकिए, प्रतिबन्ध हटाइए र रोक्का गरिएका सम्पत्ति फुकुवा गरिएपछि मात्रै वार्तामा बस्ने बताएको छ । इरानी राष्ट्रपति मसुद पेजेशकियानले अमेरिका र इजरायलले इरानलाई अस्थिर बनाउन प्रयास गरिरहेको आरोप लगाएका छन् ।









