काठमाडौं । रोयल इनफिल्डले आफ्नो नयाँ अर्बन परफर्मेन्स रोडस्टर ‘गरिल्ला ४५०’ नेपालमा सार्वजनिक गरेको छ । दैनिक सहर यात्रा, घुमाउरा सडक र लामो दूरीका राइडलाई लक्षित गर्दै तयार गरिएको यो मोटरसाइकलले रोडस्टर सेग्मेन्टमा नयाँ अनुभव दिने कम्पनीले जनाएको छ ।
नेपालमा सार्वजनिक गरिएको गरिल्ला ४५० तीन भेरियन्ट—एपेक्स, ड्यास र फ्ल्यास—तथा आठ रंग विकल्पमा उपलब्ध हुनेछ ।
रोयल इनफिल्डका सार्क व्यवसाय प्रमुख दीपक काकरले नेपालमा नयाँ मोडल ल्याउनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनका अनुसार यो मोटरसाइकल विशेषगरी नेपाली सडकलाई ध्यानमा राखेर तयार गरिएको हो, जसले चुस्त, सहज र दमदार प्रदर्शन दिने कम्पनिको दाबी छ ।
गरिल्ला ४५० मा ४५२ सीसी क्षमताको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन रहेको छ । यसले ८ हजार आरपीएममा ४० पीएस पावर र ५ हजार ५०० आरपीएममा ४० एनएम टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार कम आरपीएममै उच्च टर्क उपलब्ध हुने भएकाले सहरदेखि राजमार्गसम्म सहज राइडिङ अनुभव मिल्नेछ ।
यस मोटरसाइकलमा ६-स्पिड गियरबक्स, असिस्ट र स्लिप क्लच, राइड बाइ वायर प्रविधि तथा स्पोर्ट र स्ट्रिट गरी दुई राइडिङ मोड समावेश छन् । साथै ११ लिटर इन्धन ट्याङ्की, एलईडी लाइट, अपस्वेप्ट सिलिन्डर र स्टेप्ड सिट जस्ता सुविधा पनि छन् ।
गरिल्ला ४५० का सबै भेरियन्टमा चार इन्चको टीएफटी ट्रिपर ड्यास उपलब्ध छ, जसमा गुगल म्याप्स आधारित नेभिगेसन र स्मार्टफोन कनेक्टिभिटी सुविधा छ । कम्पनीले एपेक्स भेरियन्टलाई विशेष रूपमा स्पोर्टी डिजाइन र अतिरिक्त फिचरसहित प्रस्तुत गरेको छ । सबै भेरियन्टको एक्स–शोरुम मूल्य ८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
नेपालमा यसको बुकिङ खुला भइसकेको छ र डेलिभरी पनि सुरु भएको कम्पनीले जनाएको छ । रोयल इनफिल्डले विश्वव्यापी सेवा सञ्जालमार्फत ग्राहकलाई सेवा दिने ‘बोर्डरलेस वारेन्टी’ कार्यक्रम पनि सार्वजनिक गरेको छ ।









