काठमाडौँ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कञ्चनपुर, सप्तरीका प्रमुख महेन्द्रकुमार दासविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार चार्जिङ स्टेशनका लागि ट्रान्सफर्मर जडान गरी विद्युत लाइन उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिएको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले दासलाई नियन्त्रणमा लिएको थियो । उनी सेवाग्राहीबाट १ लाख ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित पक्राउ परेका थिए ।
अनुसन्धानका क्रममा चार्जिङ स्टेशन सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा भइसकेपछि पनि दासले लाइन उपलब्ध गराइदिएबापत सेवाग्राहीसँग घुस रकमका लागि बार्गेनिङ गरेको खुलेको आयोगले जनाएको छ ।
आयोगका अनुसार उनले घुस नदिए विद्युत लाइन काटिदिने धम्कीसमेत दिएका थिए । त्यसपछि सेवाग्राहीबाट १ लाख ४० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर भएको भन्दै आयोगले बिगो बराबर १ लाख ४० हजार रुपैयाँ कायम गरी कैद तथा जरिवानाको मागदाबी सहित सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ ।









