• २०८३ बैशाख २७ आइतबार

उत्तर कोरियामा सर्वोच्च नेता किमको हत्या भए तत्काल आणविक हमला गर्ने संबैधानिक व्यवस्था

उत्तर कोरियामा सर्वोच्च नेता किमको हत्या भए तत्काल आणविक हमला गर्ने संबैधानिक व्यवस्था

काठमाडौँ । उत्तर कोरियाले आफ्नो संविधान र आणविक नीतिमा ठूलो परिवर्तन गर्दै नयाँ प्रावधान थपेको छ । अब देशका सर्वोच्च नेता किम जोङ उनको हत्या भए वा विदेशी आक्रमणका कारण नेतृत्व गर्न नसक्ने अवस्था आए तत्काल आणविक हमला गरिने व्यवस्था गरिएको छ ।

ब्रिटिस पत्रिका ‘द टेलिग्राफ’का अनुसार यो परिवर्तन मार्च महिनामा तेहरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणपछि गरिएको हो । उक्त आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनेईसहित धेरै वरिष्ठ इरानी अधिकारी मारिएका थिए । दक्षिण कोरियाको गुप्तचर निकायका अनुसार ती घटनापछि प्योङयाङ गम्भीर रूपमा सतर्क बनेको थियो । भविष्यमा आफूविरुद्ध पनि शीर्ष नेतृत्वलाई समाप्त पार्ने प्रकारको आक्रमण हुन सक्ने डर उत्तर कोरियामा बढेको बताइएको छ ।

यो नयाँ प्रावधान मार्च २२ मा प्योङयाङमा सुरु भएको १५ औँ सर्वोच्च जनसभा अधिवेशनको पहिलो सत्रमा पारित गरिएको थियो । त्यसपछि दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवाले वरिष्ठ सरकारी अधिकारीहरूलाई यसबारे जानकारी दिएको थियो । रक्षा विज्ञहरूका अनुसार इरानमाथिको आक्रमणले उत्तर कोरियाली नेतृत्वलाई झस्काएको छ । आक्रमणको तीव्रता र सटीकताले विदेशी शक्तिले किम जोङ उन र उत्तर कोरियाली सैन्य नेतृत्वविरुद्ध पनि यस्तै कारबाही गर्न सक्ने चिन्ता बढाएको हो ।

इरानमाथिको कारबाही उत्तर कोरियाका लागि ठूलो चेतावनी बनेको बताइएको छ । अमेरिका र इजरायलले इरानी नेतृत्वमाथि गरेको आक्रमण अत्यन्त प्रभावकारी देखिएकाले उत्तर कोरिया अहिले निकै त्रसित अवस्थामा रहेको छ । यस्तो नीति पहिले अनौपचारिक रूपमा अस्तित्वमा रहेको हुन सक्ने तर अहिले संविधानमै समावेश गरिएकाले यसको महत्व अझ बढेको विश्लेषण गरिएको छ । विज्ञहरूका अनुसार इरानको तुलनामा उत्तर कोरियामाथि यस्तै प्रकारको आक्रमण गर्न निकै कठिन हुनेछ । उत्तर कोरिया विश्वकै सबैभन्दा बन्द मुलुकमध्ये एक भएकाले त्यहाँ विदेशी कूटनीतिज्ञ, सहयोगकर्मी र व्यापारीमाथि कडा निगरानी राखिन्छ । यसका कारण गुप्त सूचना सङ्कलन गर्न कठिन हुने बताइएको छ ।

इरानी सञ्चारमाध्यमका अनुसार इजरायली गुप्तचर निकायहरूले इरानी नेतामाथि निगरानी गर्न ह्याक गरिएका ट्राफिक क्यामेरा र डिजिटल निगरानी प्रणाली प्रयोग गरेका थिए । तर प्योङयाङमा यस्तो सम्भव हुन कठिन रहेको विश्लेषण गरिएको छ, किनभने उत्तर कोरियामा निगरानी क्यामेरा सञ्जाल सीमित छ र इन्टरनेट प्रणाली पूर्ण रूपमा सरकारी नियन्त्रणमा छ ।

किम जोङ उन व्यक्तिगत सुरक्षाका मामिलामा निकै सतर्क मानिन्छन् । उनी प्रायः भारी हतियारसहितका अंगरक्षकको ठूलो समूहसँग यात्रा गर्ने गर्छन् । साथै हवाई यात्रा कम गरेर स्वदेश तथा विदेश भ्रमणमा बख्तरबन्द रेल प्रयोग गर्ने गरेका छन् । यसैबीच उत्तर कोरियाले दक्षिण कोरियामाथि दबाब बढाउने रणनीतिअन्तर्गत सीमाक्षेत्र नजिक लामो दूरीसम्म प्रहार गर्न सक्ने तोप प्रणाली तैनाथ गर्ने योजना पनि सार्वजनिक गरेको छ । सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार किम जोङ उनले हालै एक हतियार कारखानाको निरीक्षण गर्दै नयाँ प्रकारको १५५ मिलिमिटर स्वचालित तोप उत्पादनको अवलोकन गरेका थिए ।

यो नयाँ तोप प्रणालीले ६० किलोमिटरभन्दा बढी दूरीसम्म आक्रमण गर्न सक्ने जनाइएको छ । यसलाई यही वर्ष दक्षिण कोरिया सीमाक्षेत्र नजिक तैनाथ गरिनेछ, जसबाट राजधानी सियोल प्रत्यक्ष हमलाको दायरामा पर्न सक्ने बताइएको छ । समाचार संस्थाका अनुसार किम जोङ उनले नयाँ तोप प्रणालीले उत्तर कोरियाली सेनाको स्थल युद्ध सञ्चालनमा महत्वपूर्ण परिवर्तन र रणनीतिक लाभ दिने बताएका छन् ।

पछिल्ला वर्षहरूमा उत्तर र दक्षिण कोरियाबीचको सम्बन्ध लगातार बिग्रँदै गएको छ । दक्षिण कोरियाले पटक पटक शान्ति प्रयास गरे पनि उत्तर कोरियाले अहिले खुला रूपमा दक्षिण कोरियालाई आफ्नो मुख्य शत्रु घोषणा गर्न थालेको छ । साथै उसले आफ्नो संविधानबाट कोरियाली एकीकरणसँग सम्बन्धित सन्दर्भहरू पनि हटाएको छ । उत्तर र दक्षिण कोरिया प्राविधिक रूपमा अझै युद्धकै अवस्थामा छन्, किनभने सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्ध औपचारिक शान्ति सम्झौताबिना केवल युद्धविराम सम्झौतामार्फत टुंगिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै