काठमाडौँ । इरानका राष्ट्रपति मसुद पेजेशकियानले वार्ताको अर्थ आत्मसमर्पण नभएको बताएका छन् । उनले इरानले राष्ट्रिय हित र नागरिकको अधिकारको संरक्षण दृढतापूर्वक जारी राख्ने स्पष्ट पारेका हुन् ।
युद्धबाट भएको क्षतिसम्बन्धी एक बैठकमा बोल्दै राष्ट्रपति पेजेशकियानले इरानी जनताको अधिकार सुनिश्चित गर्नु तथा देशको राष्ट्रिय हितको मजबुत ढंगले रक्षा गर्नु आफ्नो मुख्य उद्देश्य रहेको बताए । उनले इरान वार्तामार्फत आफ्ना हित अघि बढाउन चाहेको उल्लेख गर्दै कुनै पनि दबाबसामु नझुक्ने दोहोर्याए ।
यसैबीच इरानको संसदअन्तर्गत विदेश नीति तथा राष्ट्रिय सुरक्षा समितिका प्रवक्ता इब्राहिम रेजाईले तेहरानको संयम अब समाप्त भइसकेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले इरानी जहाजमाथि कुनै आक्रमण भए त्यसको कडा र निर्णायक जवाफ अमेरिकी जहाज तथा सैन्य अखडामाथि दिइने चेतावनी दिएका छन् ।
रेजाईले अमेरिकालाई समय उनीहरूको विपक्षमा गइरहेको भन्दै थप तनाव सिर्जना नगर्न आग्रह गरेका छन् । उनले नयाँ क्षेत्रीय परिस्थितिलाई स्वीकार गर्न अमेरिकालाई सुझावसमेत दिएका छन् ।
यो चेतावनी इरानी सेनाका प्रवक्ताले अमेरिकी प्रतिबन्ध कार्यान्वयन गर्ने देशहरूले होर्मुज जलडमरु हुँदै आवतजावत गर्दा समस्या भोग्नुपर्ने बताएका केही समयपछि आएको हो ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघईले अमेरिकी प्रस्ताव अहिले समीक्षा प्रक्रियामा रहेको र उचित समयमा त्यसको जवाफ दिइने बताएका छन् । उनले इरानले अमेरिकाले तय गरेको समयसीमा नमान्ने र आफ्नै तरिकाले निर्णय प्रक्रिया अघि बढाउने स्पष्ट पारे ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै इरानले शनिबारसम्म अमेरिकी प्रस्तावको जवाफ दिने आशा व्यक्त गरेका थिए । तर अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन ।
अल जजिराका अनुसार प्रस्तावको मस्यौदा अत्यन्त प्राविधिक भएकाले प्रतिक्रिया दिन ढिलाइ भइरहेको हो । प्रस्तावमाथिको समीक्षा प्रक्रियामा संसद अध्यक्ष मोहम्मद बाघेर गालिबाफको नेतृत्वमा रहेको वार्ता टोली, इस्लामिक रिभोलुसनरी गार्ड कोर तथा राष्ट्रिय सुरक्षा परिषद् सहभागी छन् । अन्तिम निर्णयका लागि इरानका सर्वोच्च नेताको स्वीकृति आवश्यक पर्ने भएकाले प्रक्रिया लम्बिएको जनाइएको छ । यद्यपि इरानको अन्तिम जवाफ जुनसुकै बेला आउन सक्ने बताइएको छ ।









