• २०८३ बैशाख २७ आइतबार

भेनेजुएलाको १३.५ किलो उच्च सम्वर्धित युरेनियम अमेरिकाको नियन्त्रणमा

भेनेजुएलाको १३.५ किलो उच्च सम्वर्धित युरेनियम अमेरिकाको नियन्त्रणमा

काठमाडौँ । अमेरिकाले भेनेजुएलाबाट १३.५ किलो उच्च सम्वर्धित युरेनियम हटाएर आफ्नो नियन्त्रणमा लिएको जनाएको छ । उक्त युरेनियम लामो समयदेखि भेनेजुएलाको पुरानो अनुसन्धान रिएक्टरमा राखिएको थियो । अमेरिकाले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार कराकास नजिक रहेको केन्द्रबाट युरेनियम निकालेर सुरक्षित रूपमा अमेरिका पुर्‍याइएको हो ।

यो अभियान अमेरिका, भेनेजुएला, बेलायत र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको संयुक्त समन्वयमा सम्पन्न भएको बताइएको छ । अमेरिकी ऊर्जा विभागका अनुसार युरेनियमलाई स्थल र समुद्री मार्ग हुँदै अमेरिका ल्याइएको हो । अहिले यसलाई दक्षिण क्यारोलिनास्थित सवाना रिभर आणविक केन्द्रमा प्रशोधन गरिनेछ ।

अमेरिकी राष्ट्रिय आणविक सुरक्षा प्रशासनले यो अभियान दक्षिण अमेरिका र अमेरिकाको सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण रहेको जनाएको छ । प्रशासनका अनुसार भेनेजुएलाको आरभी–१ अनुसन्धान रिएक्टर दशकौँसम्म आणविक अनुसन्धानमा प्रयोग गरिएको थियो । सन् १९९१ मा अनुसन्धान कार्य बन्द भए पनि त्यहाँ उच्च संवर्धित युरेनियम सुरक्षित रूपमा राखिएको थियो ।

अमेरिकी अधिकारीहरूका अनुसार पूरा अभियान छ साताभन्दा कम समयमै सम्पन्न गरिएको हो । युरेनियमलाई विशेष सुरक्षा कन्टेनरमा राखेर करिब १०० माइल सडकमार्ग हुँदै बन्दरगाहसम्म लगिएको थियो । त्यसपछि बेलायती आणविक ढुवानी कम्पनीको जहाजमार्फत अमेरिका पठाइएको जनाइएको छ । अभियानको निगरानी गर्न राष्ट्रिय आणविक सुरक्षा प्रशासनका उपप्रशासक डाक्टर म्याट नेपोली पनि भेनेजुएला पुगेका थिए । उनले अनुभवी टोलीका कारण अभियान सफल भएको बताएका छन् । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले पनि अभियानको पुष्टि गर्दै यसलाई जटिल र संवेदनशील कार्य भनेको छ ।

प्रशासनका अनुसार सन् १९९६ यता विश्वका विभिन्न देशबाट ७ हजार ३५० किलोभन्दा बढी उच्च संवर्धित युरेनियम र प्लुटोनियम हटाउने वा सुरक्षित बनाउने काम गरि सकिएको छ । यसबीच अमेरिकी प्रशासनले लामो समयदेखि इरानसँग रहेको उच्च सम्वर्धित युरेनियमबारे दबाब बढाइरहेको छ । विभिन्न प्रतिवेदनअनुसार इरानसँग करिब ४०८ किलो यस्ता सामग्री रहेको बताइए पनि अमेरिका त्यसलाई हटाउन भने सफल भएको छैन ।

हाल अमेरिका र भेनेजुएलाबीचको सम्बन्धमा पनि परिवर्तन देखिन थालेको छ । पछिल्ला महिनाहरूमा अमेरिकी गुप्तचर निकायका प्रमुख जोन र्‍याटक्लिफसहित उच्च अधिकारीहरू भेनेजुएला पुगेका छन् । सात वर्षपछि दुई देशबीच व्यावसायिक हवाई उडान पुनः सञ्चालनमा आएको छ भने अमेरिकी दूतावास पनि पुनः खोलिएको छ ।

विश्वकै ठूलो तेल भण्डार भएका देशमध्ये भेनेजुएला पनि एक हो । प्रतिवेदनहरूमा अमेरिकाले अहिले त्यहाँ ऊर्जा र खानी क्षेत्रमा लगानी तथा व्यापार विस्तार गर्ने प्रयास गरिरहेको उल्लेख गरिएको छ । यद्यपि केही लोकतन्त्र समर्थक समूहहरूले अमेरिकी नीतिको आलोचना गरेका छन् ।

यसैबीच अमेरिकाले सन् २०२६ जनवरीमा भेनेजुएलामा ठूलो सैन्य अभियान सञ्चालन गरेको थियो । अमेरिकी सेनाले राजधानी कराकासमा कारबाही गर्दै राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको दाबी गरिएको थियो । अमेरिकाले उनीमाथि लागुऔषध तस्करी र आतंकवादसँग सम्बन्धित आरोप लगाएको थियो । त्यसपछि भेनेजुएलामा राजनीतिक संकट गहिरिएको थियो ।

मादुरो पक्राउ परेपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाइएको थियो । अमेरिकाले नयाँ सरकारलाई समर्थन गर्दै तेल व्यापारसहित केही आर्थिक प्रतिबन्धहरू खुकुलो बनाएको थियो । तर रूस, चीनलगायत केही देशहरूले अमेरिकी कदमको विरोध गरेका थिए । त्यसयता अमेरिका र भेनेजुएलाबीच कूटनीतिक सम्पर्क र आर्थिक सहकार्य बढ्दै गएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै