• २०८३ बैशाख २५ शुक्रबार

घुससहित पक्राउ परेका वैदेशिक रोजगार विभागका नासुविरुद्ध मुद्धा दायर

घुससहित पक्राउ परेका वैदेशिक रोजगार विभागका नासुविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा वैदेशिक रोजगार विभाग ताहाचलमा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङ्गी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दाको प्रक्रियामा सहजीकरण गरिदिने भन्दै मस्राङ्गीले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना र उजुरीपछि अनुसन्धान गरिएको थियो ।

टंगालबाट खटिएको अख्तियारको टोलीले मस्राङ्गीलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा वैदेशिक रोजगारसम्बन्धी मुद्दा मिलापत्रतर्फ अघि बढेको अवस्थामा उनले विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख हैरानी दिएको आयोगको भनाइ छ । तारेखमा बस्न नपर्ने, मुद्दा नचल्ने निर्णय गराइदिने, मुद्दा मिलाइदिने तथा कारबाही टुंग्याइदिने विषयमा सहजीकरण गरिदिने भन्दै उनले १५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगले मस्राङ्गीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत १५ हजार रुपैयाँ बिगो कायम गर्दै कैद र बिगो बराबर जरिवानाको मागदाबी गरेको छ । सोही मागसहित आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै