काठमाडौँ । नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमा हालै सार्वजनिक गरिएको नेटवर्क नक्सामा त्रुटि भएको स्वीकार गर्दै औपचारिक रूपमा माफी मागेको छ ।
निगमले जारी गरेको विज्ञप्तिमा उक्त नक्सामा अन्तर्राष्ट्रिय सीमासम्बन्धी गम्भीर त्रुटि रहेको र त्यसले नेपाल सरकार वा निगमको आधिकारिक धारणा प्रतिनिधित्व नगर्ने स्पष्ट पारेको छ ।
त्रुटिपूर्ण नक्सा सार्वजनिक भएपछि निगमले उक्त सामग्री तुरुन्त हटाएको जनाएको छ । साथै, आगामी दिनमा यस्ता कमजोरी दोहोरिन नदिन आन्तरिक समीक्षा प्रक्रिया सुरु गरिएको पनि जानकारी दिएको छ ।
निगमले छिमेकी देशहरूसँगको सम्बन्धलाई उच्च महत्व दिने उल्लेख गर्दै उक्त सामग्रीका कारण कसैलाई असहज भएको भए त्यसप्रति दुःख व्यक्त गरेको छ ।









