• २०८३ बैशाख १६ बुधबार

दुई फरक पुरुषबाट गर्भवती भई जुम्ल्याहा सन्तान: मेडिकल साइन्सले के भन्छ ?

दुई फरक पुरुषबाट गर्भवती भई जुम्ल्याहा सन्तान: मेडिकल साइन्सले के भन्छ ?

काठमाडौँ । एक महिलाले दुई फरक पुरुषबाट गर्भवती भई जुम्ल्याहा सन्तान जन्माएको दुर्लभ घटना सार्वजनिक भएपछि चिकित्साशास्त्रमा यसको व्यापक चर्चा भएको छ ।

सन् २०१८ मा कोलम्बियाकी एक महिला आफ्ना दुई वर्षका जुम्ल्याहा छोराका पिताबारे जानकारी लिन राष्ट्रिय विश्वविद्यालयको जनसंख्या आनुवंशिकी तथा पहिचान प्रयोगशालामा पुगेकी थिइन् । नियमित पितृत्व परीक्षण गर्दा दुवै बालककी आमा एउटै भए पनि पिता फरक-फरक रहेको पुष्टि भएको थियो ।

चिकित्सा विज्ञानमा यस्तो अवस्थालाई ‘हेटेरोपितृ सुपरफेकन्डेशन’ भनिन्छ । यसको अर्थ एउटै महिनावारी चक्रमा दुई वा बढी अण्डा दुई फरक पुरुषका शुक्रकीटबाट निषेचित हुनु हो, जसका कारण जन्मिने जुम्ल्याहा सन्तानका पिता फरक हुन सक्छन् ।

वैज्ञानिक साहित्यअनुसार विश्वभर यस्ता करिब २० वटा मात्रै घटना अभिलेखमा रहेका छन् । अमेरिकामा प्रकाशित एक अध्ययनमा ३९ हजार पितृत्व परीक्षणमध्ये केवल तीन वटा यस्तै घटना फेला परेको उल्लेख छ ।

नेशनल सेन्टर फर बायोटेक्नोलोजी इनफर्मेशन प्रकाशित रिपोर्टका अनुसार पितृत्व परीक्षणका लागि वैज्ञानिकहरूले ‘माइक्रोसाटेलाइट मार्कर’ प्रविधि प्रयोग गर्छन् । यसमा आमा, बच्चा र सम्भावित पिताको डिएनएको तुलना गरिन्छ । कोलम्बियाको उक्त घटनामा १७ वटा आनुवंशिक बिन्दुको परीक्षण गरिएको थियो ।

परीक्षणमा एक बच्चाको डिएनए सम्भावित पितासँग मेल खायो भने अर्को बच्चाको मेल खाएन । नतिजा असाधारण देखिएपछि परीक्षण पुनः दोहोर्याइएको थियो, तर परिणाम उस्तै आएको बताइएको छ ।

प्रयोगशालाका निर्देशक प्राध्यापक विलियम उसाक्वेनका अनुसार यस्तो घटना अत्यन्त दुर्लभ हुन्छ, किनकि यसका लागि एउटै महिलाको छोटो समयमा दुई फरक पुरुषसँग यौनसम्पर्क हुनु, एउटै चक्रमा दुई वा बढी अण्डा निस्कनु र ती सबै निषेचित हुनु आवश्यक पर्छ ।

विशेषज्ञहरूका अनुसार फरक पिताका जुम्ल्याहा सन्तान कहिल्यै एकनासका हुँदैनन्, किनकि एकनासका जुम्ल्याहा एउटै अण्डा र एउटै शुक्रकीटबाट बन्ने गर्छन् । अनुसन्धानकर्ताहरूका अनुसार यस्ता घटना कम देखिनुको अर्को कारण धेरै मानिसले पितृत्व परीक्षण नगराउनु पनि हो । आधुनिक आणविक परीक्षण सहज बन्दै जाँदा भविष्यमा यस्ता घटनाहरू थप पहिचान हुन सक्ने विश्वास वैज्ञानिकहरूले गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै