काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले ओखलढुंगाको विद्यालयका प्रधानाध्यापकलाई थर्काएको भिडियो भाइरल भएपछि सार्वजनिक रूपमा माफी मागेका छन् ।
पूर्वएआइजी समेत रहेका सांसद पोखरेलले शनिबार विज्ञप्ति जारी गर्दै आफ्नो बोली र व्यवहारमा संयमता नदेखिएको स्वीकार गरेका हुन् । उनले घटनाबाट कसैको आत्मसम्मान र मर्यादामा चोट पुगेको भए हृदयदेखि नै क्षमायाचना गरेका छन् ।
उनले भनेका छन्- ‘यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरू मात्र काटछाँट गरी सामाजिक सञ्जालमा आएको भिडियोले घटनाको पूर्ण परिप्रेक्ष्य विकृत हुन पुगेको छ । यद्यपि, सार्वजनिक जीवनमा रहँदा मेरो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपर्थ्यो भन्ने कुरा म पूर्ण रूपमा स्वीकार गर्छु ।’
विज्ञप्तिमा उनले भिडियोलाई काटछाँट गरी अपूर्ण सन्दर्भमा प्रस्तुत गरिएको दाबी गरेका छन् । यद्यपि, सार्वजनिक पदमा रहँदा आफूले अझ बढी धैर्य र मर्यादा देखाउनुपर्ने उनले स्विकारेका छन्।
सांसद पोखरेल ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा पुग्दा भएको विवादको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । उनले आफु जिल्लाको माननीय विद्यालयमा आउदा स्वागत गर्न नआएको भन्दै प्रधानाध्यापकमाथि आक्रोश पोखेका थिए ।
पोखरेलले यस घटनाका कारण पार्टी, शुभेच्छुक, विद्यालय परिवार र आम जनसमुदायमा पर्न गएको ठेसप्रति क्षमा माग्दै आगामी दिनमा थप जिम्मेवार र मर्यादित हुने प्रतिबद्धता जनाएका छन् ।










