काठमाडौं । सर्वोच्च अदाललते महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।
महान्यायाधिवक्ता कँडेलको नियु्क्ति असंवैधानिक दावी गर्दै अधिवक्ताहरू माधव कुमार बस्नेत, दिपकराज जोशी, शिवराज बरालसमेतलगायतले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन्। अयोग्य व्यक्तिलाई महान्यायाधिवक्ताजस्तो पदमा नियुक्त गरेको रिट निवेदनमा उल्लेख गर्दै कँडेलले निरन्तर १५ वर्ष वकालत नगरेको दावी गरिएको छ ।
महान्यायाधिवक्ता हुन कानुनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्तिमा १५ वर्ष निरन्तर वकालत गरेको र वा कम्तिमा १५ वर्षसम्म न्याय वा कानुनको क्षेत्रमा काम गरी विशिष्ट कानुनविदको रुपमा ख्याति प्राप्त गरेको हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।
प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत चैत्र २२ गते डा. कँडेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका थिए ।









